कविता

कविता-परदेशीको दशैं
-नवराज बुढा 'नवीन उदासी'

कतै काग कराउँदा,
कतै कसैलाई देख्दा,
मुलबाटो  हेर्दै टोलाउँदै छन् होला|
र भन्दै छन् होला...
छोरा फर्की आउँछ यो दशैंमा
परदेशबाट|

तर चट्टानै चट्टानको
शहर भित्र भौतारी रहेको छु,
विरहमा एक्लो हराइरहेको छु|
उही गाउँ, उही ठाउँ र चाडबाड
सम्झिएर आँखामा अविरल आँशु
बगाई रहेको छु|
आखिर ! किन आउँछ यो चाडबाड
परदेशी मन रुवाउन ?

बहिनि भन्दि हो दाई मेरो
कहाँ गयो ?
सदाको बर्षझैँ
यो सालको दशैं पनि शुन्य हुने
भयो|
मखमली सयपत्री फूलहरु
सबै-सबै ओइलिएरै जाने भए|
दशैंको संघारमा दाईलाई
कुर्दा-कुर्दै यो दशैं नै जाने भयो|
उफ्फ़ .. ! दाई फर्किएन|
सायद उता रमाउदै छ होला
परदेशीको दशैंमा|