गजल बारेमा

ललिजन रावल

प्रत्येक मानिसले सपना देख्छ, ऊसँग खुसी(पीडाका अनुभव र अनुभुतिहरू हुन्छन् । यस अर्थमा जो कोहीले सिर्जनाको कच्चा पदार्थ बोकेको हुन्छ । तर आफ्ना सपना, खुसी र पीडाहरूलाई जसले अभिव्यक्ति दिन्छ, ऊ नै सर्जकमा दरिन्छ । आफू र आफ्ना भावनाहरूलाई शब्दमा अभिव्यक्त त्यस बेला मात्र गर्न सकिन्छ, जब हृदयलाई कुनै चीजले बेसरी हिर्काउँछ वा जगाउँछ । यसरी नै आफ्नो गाउँठाउँ र मुलुकलाई छोडेर परदेशिन बाध्य भएका नवीन उदासीको हृदयलाई यही पीडाले बेसरी हिर्काएपछि उनी गजल(स्रष्टा बन्न पुगेका छन् । भौगोलिक दूरी जति सुकै भए पनि नाकले माटोको सुवास भुल्न सक्दैन र आँखाले स्वदेशको प्राकृतिक छटाका दृश्यहरू कहिल्यै बिर्सन सक्दैन । त्यसैले होला गजलकार नवीन उदासी लेख्छन्(ललिजन रावल

म तिम्रो काखैमा बसेको हुन्छु

झलझली आँखैमा बसेको हुन्छु

परदेशमा भए पनि म त यहाँ

देउराली पाखैमा बसेको हुन्छु

यी पङ्क्तिहरूले गजलकारको मातृभूमिप्रतिको प्रेमलाई दर्शाएको छ । परदेशमा हुुनुको पीडालाई मनभित्रै लुकाएर उनी भन्छन् ( म परदेशमा भए पनि आफ्नै देउराली पाखामा बसेको अनुभूति गर्छु । आफ्नो देउराली पाखालाई अन्तरहृदयमा बोकेर उनी मलेसियाको एक शहरमा नितान्त एक्लो हुनु परेको कुरा यसरी व्यक्त गर्छन्(

गाउँ छोडी आएपछि शहरमा एक्लो भएँ

रमाउने जिन्दगीको रहरमा एक्लो भएँ

परदेशमा म त सारै एक्लै भा’छु अचेल

नपाए नि उमङ्ग त्यो मनमा छा’छु अचेल

एक्लै टाढा भा’छु प्रवासमा आएर आज म

पलपल तड्पन्छु सबै माया लाएर आज म

प्रवासको एक्लोपन र मुटुभरिको सम्झनाबीच गलजकारका हृदयभित्र सधैँ द्वन्द्व चलिरहन्छ । यही द्वन्द्वले गजलका पङ्क्तिहरूको निर्माण हुन्छ र उनको हृदयबाट उद्वेलित भएर गजलको प्रवाह यसरी बगिरहेको छ(

परदेशले नै रुवायो मलाई आज

तिम्रो यादले सतायो मलाई आज

मलाई कति राम्रो लाग्थ्यो रोल्पा बुढागाउँ

मनको खुसी सधैँ माग्थ्यो रोल्पा बुढागाउँ

तिम्रै कञ्चन मायाले सताउँछ परदेशमा

तिम्रै यादले पलपल तड्पाउँछ परदेशमा

गजरलकारले वर्तमान समयमा नेपालबाट रोजगारीको निम्ति विभिन्न मुलुकतिर लागेका श्रमजीवी नेपालीहरूको स्थितिको सजीव चित्रण गरेका छन् । र सम्पूर्ण परदेशिएका नेपाली मनहरूको भावनालाई आफ्ना गजलहरूमा यसरी वाणी दिएका छन्(

रहर होइन बाध्यताले परदेश आ’को छु

कसलाई पो थाहा छ र पाउनु दुःख पा’को छु

वास्तवमा आफ्नो गाउँठाउँ, मातृभूमि, परिवार र प्रियजनहरूलाई छोडेर बिरानो मुलुकमा जानु कसैका निम्ति पनि रहर हुन सक्दैन । बेरोजगारी, गरिबी र अभावहरूले लखेटेपछि मानिस जीवन(निर्वाहको निम्ति यसरी आफ्नो मुलुकबाट परदेशिन बाध्य हुन्छ । त्यसपछि परदेशमा पाइने दुःख(कष्टका बारेमा उसैले मात्र थाहा पाउँछ, जो परदेशिएको छ ।

गजलकार नवीन उदासी आफूले आफ्नी मायालुलाई ढाँटेको छैन र बिर्सेको छैन भन्दै यसरी परदेशबाटै मायालु पारामा फकाउने प्रयत्न गर्छन् ।

आउँछु भन्दै माया मा¥यो नभन्नु परदेशीले

पर्खेर बस्दा एक्लै पा¥यो नभन्नु परदेशीले

बिरानो मुलुकमा भोग्नु परेका पलपलका भेगाइहरूले धेरै नेपाली मनहरूलाई स्रष्टा बनाएको वास्तविकता आज हाम्रा सामु प्रस्ट रूपमा उपस्थित छ । यसै वास्तविकताभित्रका स्रष्टा हुन् नवीन उदासी । परदेशीहरूले बिताइरहेका क्षणहरूमा पीडाकै बाहुल्यता बढी हुनु पर्छ । नत्र उनीहरूका रचनाहरूले पीडा नै बढी किन बोल्थे ? गजलकार उदासीको आफ्नो पीडाको पराकाष्ठा यसरी व्यक्त हुन्छ(

आज बिक्नु प¥यो परदेशमा श्रमको भाउमा दाजै

बाँचेछु भने फर्की आउने छु आफ्नो गाउँमा दाजै

चरम पीडाको अनुभूति गर्दा(गर्दै पनि गजलकार उदासी निराश भएका छैनन् । आशाका किरणहरूलाई आफूभित्र समेट्दै उनी आफ्नो मातृभूमि र आमालाई आश्वस्त पार्दै भन्छन्(

मखमली फुल्दा आउने छु आमा

मार्सिधान झुल्दा आउने छु  आमा

प्रवाससका भोगाइका सन्दर्भहरूसँगै गजलकारले प्रेम(प्रणय भावका गजलहरू पनि यस सङ्ग्रहमा समेटेका छन् । एउटा युवा स्रष्टाले प्रेमका गजलहरू लेख्नु स्वाभाविक कुरा हो । प्रेममय अभिव्यक्तिहरूले जीवनलाई एकरसताबाट मुक्ति दिलाउँछन् र रसमय बनाउँछन् । कुरा यत्ति हो, प्रेमप्रणयका नाममा अश्लीलता र नाङ्गोपन हुनुहुन्न । मर्यादित प्रणय भावहरूले पाठकलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दछन् । गजलकार उदासीका केही प्रणय सम्बन्धी गजलका उदाहरण हेरौँ (

बैँसको मातले मात्तिएकी हौली सानु

आउँछ भन्दै आत्तिएकी हौली सानु

सबै थोक पाउँछु म त तिमीलाई पाएँ भने

सधैँ खुल्ला छ यो दिल कोही बस्न आए भने

सधैँ हुन्छ तिम्रो दिलमा मेरो बास सानु

माया गर्छौ भनी मलाई लाग्छ आस सानु

प्रेमाभिव्यक्तिभित्र पनि दुई पाटा हुन्छन्, संयोग र वियोग । उदासीका प्रेम सम्बन्धी गजलहरूमध्ये मिलनभन्दा बिछोडका गजलहरूको बाहुल्यता बढी छ यस सङ्ग्रहमा । बिछोडपछिको मानसिक प्रतिक्रिया उनका गजलमा यसरी आएको छ (

एक्लै थिएँ साथ छोडेर गयौ

वाचा कसम खाई तोडेर गयौ

आज माया मारेर गयौ साथी

मेरो आँसु झारेर गयौ साथी

दिल मेरो जलाएर के पायौ साथी

मनमा हुरी चलाएर के पायौ साथी

आफ्नो मुलुकको समसामयिक परिस्थिति, राजनैतिक र सामाजिक बिसङ्गतितिर पनि गजलकारले दृष्टि पु¥याएकै छन् । राजनैतिक र सामाजिक बिसङ्गतिको चित्रण र त्यसप्रति व्यङ्ग्य गर्न गजलकार पछि पर्दैनन्,

काम छैन कुर्सी मात्रै तानातानी हुन्छ फेरि देशमा

संविधान लेख्न सधैँ आनाकानी हुन्छ फेरि देशमा

भाषण फुक्दै घाँटी तन्काएर आऊ अघि बढौँ

विकासका नारा घन्काएर आऊ अघि बढौँ

धेरै छन् बस्तुझैँ मान्छे रोज्नेहरू

दलाल बन्दै आफ्नै मान्छे बेच्नेहरू

गजलकार उदासीले आफ्ना गजलहरूमा विषयगत विविधतालाई समेट्ने प्रयास गरेका छन् र उनको यो प्रयास प्रशंसनीय छ । अब गजलको शास्त्रीयता र संरचना पद्धतिका बारेमा थोरै चर्चा गर्नु पर्ने हुन्छ । गजल हार्दिक, कोमल र संक्षिप्त स्वरूपको एक शास्त्रीय विधा हो । यस  अर्थमा आफ्ना भावहरूलाई अत्यन्त हार्दिकतासाथ थोरै शब्द र पङ्क्तिहरूमा व्यक्त गर्नु पर्ने हुन्छ । यसरी हेर्दा गजलकार उदासीले यस दिशामा अत्यन्त गम्भीर भएर लाग्नु पर्ने देखिन्छ । साथै गजलको संरचना पद्धतिका दृष्टिले उनका गजलहरूको अध्ययन गर्दा काफिया प्रयोगमा अझै सचेत हुनु पर्ने देखिन्छ भने लयचेतनालाई राम्ररी आत्मसात गर्न बाँकी देखिन्छ । अर्काे महत्वपूर्ण कुरा भनेको भाषा हो, भाषिक शुद्धता हो । काफिया मिलाउने नाममा धेरै ठाउँमा भाषिक अशुद्धता भेटिन्छ यी गजलहरूमा । शुद्ध र प्राञ्जल भाषाको प्रयोग उनको आगामी गजल( यात्रामा पाइने छ भन्ने मैले विश्वास  लिएको छु । निरन्तर अभ्यास र साधनाद्वारा जस्तो सुकै कठिन शिखर पनि चढ्न सकिन्छ भन्ने तथ्यलाई हृदयमा राखेर युवा गजलकार नवीन उदासीले नेपाली गजलमा आफ्नो विशेष स्थान बनाउने छन् भन्ने मैले दरिलो आशा बोकेको छु । प्रवासमा कठिन दिनहरू बिताउँदै नेपाली गजललाई यति धेरै माया र स्नेह गरेकोमा युवा स्रष्टा उदासीलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र उनकै यो आशावादी शेर प्रस्तुत गर्दै आफ्नो प्रतिक्रिया यहीँ टुङ्ग्याउँछु ।

चकमन्न त्यो औँसीको रात ढल्छ बिस्तारै

रात ढल्दै फेरि मनको दीप बल्छ बिस्तारै

२०६९÷३÷८,

  रेडियो नेपाल, काठमाडौँ

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email : nbnabinudasi@gmail.com