कविता

कवि- तिब्वत दर्लामी 
~~~~~
जब माघे सकराटी आउछ
मन भुरुरु उडेर पुग्छ
पारी... बादल भन्दा पारी
डाँडापारीको बस्तिमा
र बटुलेर ल्याउछ
अतीतका मीठा मीठा सम्झनाका तस्वीरहरु
र सजाइदिन्छ आँखाभरी झल्झली!

घरभरी चेलीबेटीहरु
फुपुहरु, दिदी बहिनीहरु
आउने जाने जाने इष्टमित्रहरुको लर्को
उसिन्दै गरेको बनतरुल घरतरुल पिडालु र सर्खण्डो
मासको रोटी, फापरको फुलौरा
फन्के सेलरोटी
ओहो! सम्झिदा आनन्दित हुन्छु ।

पिँढीमा तमाखु तान्दै गरेका बाजेहरु
रक्सी पार्दै गरेका भाउजुहरु
गुन्द्री र मान्द्रोमा बसेर
घाम ताप्दै गरेको बोज्यैहरु
सम्झदा पनि गाउमै पुगे झैं हुन्छ ।

भाग लाउदै गरेको बँगुरको मासु
रक्सी र सितनसँग
दुःख सुखका सुस्केरा साट्दै गरेको काकाहरु
कोरी बाटी चिटिक्कै परेका साथी सँगीहरु
सम्झदा पनि गज्जब लाग्छ ।

फ्याङखोला दोभानमा लाग्ने सकराटी मेलामा
रातभर रातभर बेतिनीका ठुली कान्छीहरुसँग
दोहोरी गाउदा गाउदै मायाँ बसेको पत्तै पाएनौं
भर्लेनी हाट बजारबाट किनेर ल्याएको
रुमाल उपहारमा दिएथ्यौं हामीले
साँच्चै त्यो रुमाल मैलियो होला
फाटियो होला
तर सम्झनाहरु फाटिदो रहेनछ
त्यसैले सम्झिरहेछु यो बिरानो शहरबाट
अतीतका मीठा पलहरु !

काभ्रे, साल्धारा 

(नोट: यो कविता साथि तिब्वत दर्लामी जीको फेसबुक स्टाटस माघे सक्रान्ति बिशेष मलाई अत्यन्तै मन परेकोले साभार गरेर यो मेरो ब्लगमा पब्लिश गरेको हुँ| गल्ती भए माफी चाहन्छु|)