सेतो सूर्यको नेपाल प्रिमियरसँगै किम्फ फेस्टिभल शुरु भएको छ

‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)’ काठमाण्डौमा बिहिबारबाट सुरु भएको छ । महोत्सवको १४ औं संस्करणको कुमारी हलमा सूचना तथा सञ्चार मन्त्री राम कार्कीले उद्घाटन गरे ।

पाँचदिने महोत्सवमा नेपालसहित भारत, चीन, स्विजरल्यान्ड, फ्रान्स , अमेरिका, टर्की लगायत २६ मुलुकका ८३ वटा चलचित्रहरु प्रदर्शन गरिनेछ । जसमा नेपालका मात्रै फिचर फिल्म र डकुमेन्ट्री गरि १६ वटा चलपचित्र देखाइने किम्फ आयोजक कमिटिका अध्यक्ष वसन्त थापाले जानकारी दिएका छन् ।

महोत्सवमा प्रतिस्पर्धात्मक र गैर-प्रतिस्पर्धात्मक चलचित्रको सेगमेन्टका साथै नेपाल पानोरमा, विधा अन्तर्गत चलचित्रहरु राखिएको छ । चलचित्रहरु कुमारी हलका साथै रसियन कल्चरल सेन्टर कमलपोखरीमा प्रदर्शन हुनेछन् ।

किम्फको सुरुवात भने ‘ह्वाइट सन’ -सेतो सूर्य) को नेपाल प्रिमियर गरिएको छ । यो चलचित्र भोलीबाट नेपालमा व्यवसायिक प्रदर्शनमा आउनेछ । चलचित्र प्रदर्शनपछि निर्देशक दीपक रौनियार, कलाकार दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, सुमी मल्ल, अमृत परियारसँग दर्शकले प्रश्न सोध्दै अन्तरक्रिया पनि गरेका थिए ।