अन्तवार्ता

देशको बेरोजागारको अवस्थाले आज भोलि नचाहेरै भए पनि झिनो आशाको त्यान्द्रो बोकेर परिवारको गुजारा चलाउन दिनानुदिन बैदेशिक रोजगारीको लागी विदेशीने नेपाली युवा जनशक्तीहरुको निकै बाक्लो लहर लागेको छ| तर दुःखको कुरा नेपालबाट दलालीले भने बमोजिम सेवा र सुविधा दिलाई दिने अन्यकौं प्रलोभन देखाएर बिदेशी मरूभूमिमा फसाउने गर्छन| यी सबै बिदेशमा आई सके पछी बल्ल थाहा हुन्छ, कस्तो हुन्छ विदेश भन्ने बारेमा, यो त मात्र भोग्नेहरुलाई थाहा हुन्छ|  विदेशको प्रचण्ड गर्मीमा सरिरै ढाक्ने गरि गम्लङ  लुगा लगाएर थोरै पैसाको लागी धेरै पसिना बगाउनु पर्छ| यसरी पराई देशमा पसिना बगाउन रहर त कसलाई होला र ? तर हामी भित्र एउटा बाध्यता छ.. त्यो हो बेरोजागर|  हो यस्तै बेरोजगारको भुमरी भित्र परेर विदेशीने युवाहरु मध्य एक हुन् गीतकार सुबास संगम राई.. सगरमाथा अंचल सोलुखुम्बू जिल्ला लोखिम गाबिस वडा नं ३ दोप्लेमा पिता डम्बर बहादुर राई र माता हस्तकुमारी राईको कोख बाट ३ दिदि पछी र एक बहिनि अघि घरको एक्लो छोरा सुबास संगम राईको बिक्रम सम्बत २०४७ साल मङ्सिर २४ गतेको दिन जन्म भएको हो|  भर्खरै मात्रै आफ्नो पहिलो गीति संग्रह ‘यात्रामा छु आफै’ बजारमा ल्याई सक्नु भएको छ भने एउटा गजल संग्रह ‘फिराक’ प्रकाशन्मोख छ, र अर्को एउटा संयुक्त गीती एल्बम ‘बेदनाका छालहरू’ पनि स्रोता माझ छिट्टै आउने तयारीमा छ|

यस्तै बिषयमा बिभिन्न समसामयिक बिषय बस्तुमा रहेर यु.के. बाट प्रकाशन हुने पत्रिका ग्लोबल नेपाल न्युज र अन्य लोकल नेपाली पत्रपत्रिकाहरुको लागि मैले उहाँ संग गरेको साहित्यिक कुराकानी फेसबुकमा पनि प्रस्तुत गरेको छु, यद्दपी यो मेरो स्रष्टाहरु संग गरेको भलाकुसारी पहिलो पटक हो| त्यसैले कहीं कतै गल्ती भएमा म माफी चाहान्छु| आगामी दिन र बसाईहरुमा पनि अन्य यस्तै साहित्यकाहरु संगको भलाकुसारी लिएर तपाई माझ र सम्पूर्ण पाठक/स्रोता माझ ल्याउने कोसिस गर्ने छु| यदी तपाई म संग यसको बारेमा केहि कुरा गर्नु चाहनु हुन्छ भने मेरो ई-मेल nbnabinudasi@gmail.com मा सम्पर्क गर्नु होला| धन्याबाद !


१.स्वागत छ आजको भेटघाटमा ।

> नमस्कार ! अनि हार्दिक धन्यवाद छ यहाँलाई ।

२. तपाइको बारे र पारिवारिक बारेमा बताई दिनुहोस् न ?

> हजुर म सुवास संगम राई परीवारमा आमा-बाबा तीन दिदी र एक बहिनी अनि म एक भाई । जस मध्य तीन दिदीहरु (बिहेबारी) आ-आफ्नै घर-परीवार सँग जीवन व्यतित गरी रहनु भएको छ ।

३. अहिले तपाई बिदेशमा हुनुहुन्छ, कुन देशमा हुनु हुन्छ र कसरी बित्दैछ बिदेशमा तपाईको दिनचर्याहरु ?

> हाल म यू.ए.ई. अबुधाबीको खहरे बस्तीमा छु । आखिर यहाँ श्रम गर्न आएको ज्यान न हो,स्वदेश बाट अनेकान स्वप्न बोकेर आईन्छ पीडाहरुलाई कुल्चिंदै तर यहाँ आई सके पश्चात उल्टै ति मुकुलित स्वप्नहरू कुल्चिएर पीडाका पहाडले थिचिंदै हरेक पल व्यतित गर्नु पर्दो रहेछ । हो,त्यसै गरी म पनि श्रमिक दिनचर्याहरु व्यतित गरिरहेको छु भन्नु पर्छ ।

४.कति भयो विदेश लाग्नु भएको र किन बिदेश लाग्नु भयो, स्वदेश मै केही गर्न सकिदैन र ?

> अन्दाजी तीन साल बित्यो रेगिस्तानको यो खहरे बस्तीमा छिरेको पनि अब त । वास्तवमा कसलाई पो विदेशिने मन त हुन्छ र कठै ! सबैको मनोवाञ्छा आफ्नै भूमिमा श्रम गर्ने,पढ्ने,समाज सेवामा समर्पित हुने जस्ता थुप्रै हुन्छन नि । तर स्वप्न सम्म देख्न पाउँदैनौं परिघोषका खजाना दुर्नामीहरुले तर्साई दिन्छन र विवश हुन्छौं प्रवाशिन । अँ ! यी माथिका सवालहरूले मलाई दैनिक आक्रमण गरि रहेका हुन्छन । अन्तस्करणमा यी प्रश्न तेर्स्याउँछु र जवाफ खोज्न लाग्छु तर आफैं भित्र तेर्स्याएको यो प्रश्नहरुमा हठाथ घोपिन पुग्छु । किन कि यी सवालका जवाफहरुमा सामन्तीको गन्द डुंग डुंगती आउँछ । म जस्ता करोडौं सर्वसाधारण नेपाली मन माथी शोषण भै रहेको छ,सामाजिक,आर्थिक लगायत मानसिक रुपमा । यी नै कारणहरुले गर्दा हाम्रा गरिबी जीन्दगीका जिजीबिषा नै मेटाउने अवस्था आए पछी म त के ४५ / ५० बर्षका ति बिचरा ! पुर्खौली ज्यानहरु र १४ / १५ बर्षका कलिला ज्यानहरु पनि कानुनका रक्षक,जनताका रक्षक बनाउँदा भ्रष्टहरुलाई घर जग्गा धितो राखेर उमेर घटाई बढाई गर्दै बिदेशिन बाध्य हुन्छन । यस्ता प्रमाणहरु हामी माज थुप्रै छन् र देखि रहेका छौं पनि । यस्तो अवस्थाले जन्म लिए पछि हामी के नै गर्न सक्छौं र खै ! ति नै सामाजिक,आर्थिक,मानसिक जस्ता कुराहरु बाट शोषणमा परेर निरीह हुन नपरेको भए नेपालमै बसेर पनि जीवित रहन सक्ने प्रकृतिले थुप्रै बाटोहरु निर्माण गरी दिएको छ ।

५. स्वदेशमा युवा जनशक्तिलई सरकारले रोजगार दिन नसक्दा अचेल बिदेशीने युवाहरुको लहर चलेको छ, यो अवस्थामा त्यी युवाहरुलाई स्वदेशमै रोकथाम गर्न के गर्न सकिन्छ ?

> नेपाली कानुनलाई नङ्ग्याएर मनोमानी खेलाउने स्वघोषित र स्वप्रशंसक बरिष्ठहरुलाई यो सवाल राखौं जस्तो लाग्यो मलाई चाहिं । यसो भनि रहंदा मैले ति नै स्वघोषित बरिष्ठहरुलाई मात्र दोषारोप गरे जस्तो होला यसको भागीदार त हामी नेपाली जनता पनि हौँ है । किन कि हाम्रो एकता त ति नै बरिष्ठहरुको भन्दा धेरै माथी र ठुलो छ नि ! तर हामी हाम्रो शक्ति नराम्ररी घुमायौं / घुमाई रहेका छौं । हामीले चुन्नु पर्थ्यो व्यवहार पक्षलाई तर हामीले भाषण पक्षलाई चुन्यौं जहाँ व्यक्तिगत स्वार्थको पहाड उभिएको थियो र नै हामी हरेक कोण बाट उत्पीडनमा पर्यौं ।

अत : नेपाली युवा जनशक्तिलाई स्वदेशमै रोकथाम गर्न सामर्थ्य अनुरुपका रोजगारको व्यवस्था मिलाउन आवश्यक छ जसको लागी मैले माथी उल्लेख गरेका कारक तत्वहरुलाई निर्मुलिकरण गरिनु पर्छ ।

६. यसरी गाउँमा भएका सबै युबा शक्ती सबै बिदेशीदा भोलि गाउँघरको अवस्था कस्तो होला ?

> अत्यन्तै महत्व पूर्ण सवाल,युवा शक्ति भविष्यका कर्णधार हुन् । अब यसरी बुझौं - राष्ट्र (नेपाल) एउटा सिङ्गो घर हो र युवा शक्ति त्यसको जग । जब जग नै भासिंदै जान्छ भने के घर रहन्छ त ? पक्कै पनि रहन्न ।

७. तपाइको धारणामा नेपालको अहिलेको बर्तमान राजनीतिलाई कसरी व्याख्या गर्नु हुन्छ ?

> भनिन्छ नि राजनीति बाट कुनै पनि व्यक्ति अछुत रहन्नन्,र म यसलाई स्वुइकार्छु पनि । तर,अन्तस्तल बाटै भन्नु पर्दा म राजनीति बाट नितान्त टाढा रहन चाहन्छु । किन कि नेपालको वर्तमान राजनीतिक अवस्थालाई हेर्दा मलाई घृणा लाग्छ या खल्लो अनुभूत हुन्छ । वास्तवमा राजनीति भनेको त जनहितको सिद्धान्त हो नि । तर खै यहाँ जनताको हित कहाँ भयो ? याहाँ खालि राजनीति (जनहितको सिद्धान्त) लाई नकावको रुपमा प्रयोग गरिएको छ त्यस नकाव भित्र नराधम लुकेको हुन्छ/पाइन्छ । यसर्थ म वर्तमान नेपालको राजीतिक अवस्थालाई मात्र दयाको दृष्टिले हेर्ने गरेको छु ।

८. एक तिर देशको तरल राजनीति, अर्को तिर युबा जनशक्तीहरु सबै विदेश पलायन हुँदा पर्ने असर र दिर्घकालिन समाधान तपाइको बिचारमा के-के हुन् सक्ला ?

> यस सवालको लागी मैले माथी उल्लेख गरेका जवाफहरू नै काफी होला जस्तो लाग्छ । यद्धपी भन्नै पर्दा प्रथम त पानी नहालेको खाँटी दुध जस्तो पवित्र राजनीतिक अवस्था बन्नु पर्यो त्यसको लागी राजनीति कर्मीहरु बोलीले हैन बिचारले परिवर्तित हुन सक्नु पर्छ । र हामी सबै निस्वार्थ भावले समाजमा बाँच्न सिक्नु पर्दछ चाणक्य ले भनेका छन् नि 'लोभले मानिसको बुद्धिलाई नै माथ गरिदिन्छ' यो उक्तिलाई मनन गर्न सक्नु पर्छ हामीले । तव मात्र राष्ट्र विकासको अरुणोदयले जन्म लिनेछ र त्यसै सँग रोजगारीले समग्र नेपाली जनतालाई नै स्पर्श गर्ने छ र मात्रै भोलिका युवा पुस्ताहरुले हामीले झैं पलायन हुन पर्ने बाध्यता बाट बन्चित रहन सक्ने छन् ।

९. आज भोलि नेपालमा नारीहरु माथि हत्या हिँसा तथा बलात्कारी जस्ता जघन्य घटनाहरु दिन प्रतिदिन बढ्दै गैरहेको छ, यो अवस्थामा नारीहरू माथी त्यी घटना हुन् नदिन र महिलाहरुलाई उक्त हिँसा बाट बच्न कस्तो सल्लाह दिनुहुन्छ ?

> बेरोजगार । यो सब बेरोजगारकै परिणाम हुन्,हामी आफुलाई पुरुष हौँ भन्न पनि अब त लज्जास्पद भै रहेको अवस्था छ नेपाली समाज भित्र । यस्तै घटनाले अझै द्रुत गति लिने हो भने भोलिको दिनमा हामी पुरुषहरु क्रूर यौन कर्मिको नामले चिनिन कति समय पनि लाग्दैन । यसो भनि रहँदा यहाँ सबै पुरुष त्यस्ता छैनौं तर एउटाले गर्दा सबैलाई बद्नामीको दाग लाग्ने गर्दछ । र बलात्कार जस्ता जघन्य अपराध किन बढ्दो क्रममा छ त ? यस बारे जहाँ सम्म मलाई लागेको अर्को कुरा यो इन्टरनेट मोबाइल सबैको हात हातमा रहेकोले त्यहाँ सम्म अश्लिल भिडियोहरु पुगेको छ,अनेक च्यानलहरुमा,पत्र-पत्रिकामा अश्लिल तश्वीर सँगै बिज्ञापन र लेखहरु छापिने काम बढिरहेको छ । साथै चेतनाको अभावले पशुको व्यवहार सृजित गरेको छ र बिशेष गरी नेपाली कानुन कम्जोर र लाचार भै दिएकै कारण यस्ता घटनाहरु दैनिक बढ्दो छ । अब नारीहरु सनातन कुसंस्कारलाई लात मारेर कानुनको अघाडी मुट्ठी बजार्न तयार हुनु पर्छ,नारी दमनकारीहरुलाई दाहन गर्नु पर्छ नारीहरुले नै । पुरुषहरुको तुलनामा नारीहरुलाई हरेक अवसरहरु बाट चुकाइएको छ । सामन्ती कानुन जसले महिलालाई भन्दा धेरै पशुहरुलाई मान्यता दिएको छ । हौ,अब यी नै क्रूर तत्वहरुलाई दाहन गरेर आफ्नो सहि अधिकार,अवसर र अस्तित्व निर्माण गर्न सबै नारीहरु एक भएर उठ्नु पर्छ ।

१०. त्यी घटनामा संलग्न सबै अभियुक्तहरु प्राय सबै फरार हुन्छन्, तर त्यी फरारलाई भेटे पछी कस्तो सजाय दिनु पर्छ ? यद्धपि फेरी त्यस्तो घटना नदोहोरियोस् !

> फरार त हुने नै भै हाल्यो नि मित्र,नेपालको कानुन नै अपाङ्ग,अन्धो र बहिरो भै दिए पछि । सर्बप्रथम नेपाली कानुनले पोषिलो चेतना निल्नु पर्यो र तन्दुरुष्ट कानुन बन्नु पर्यो । र खोजि-खोजी ति बलात्कारीहरुलाई जन्म कयद / फाँसीको सजाय दिलाउनु पर्यो । त्यसो नगरे सम्म यस्ता घटनाहरु घटी रहन्छ । अन्तमा: ति निर्दोष नारीहरुलाई पुन: पहिले जस्तै शिक्षा,अवसर र सम्मान दिईनु पर्छ ।

११. प्रसंग बदलौं, तपाई त एउटा साहित्यिक स्रष्टा, कस्तो चल्दैछ अचेल तपाइको साहित्यिक यात्रा ?

> अँ ! राम्रै चल्दैछ भन्नु पर्यो । साधनारत छु..

१२. विदेशको बसाई, नेपाली साहित्यको जगेर्ना, आफ्नो मातहतको गर्नु पर्ने काम हुँदा हुँदै यति व्यस्त समय भित्र रहेर पनि साहित्य सृर्जना गर्न कसरी भ्याउनु हुन्छ ?

> नेपाली भाषा र साहित्य प्रतिको मायाँ जो संग हुन्छ उसले जुनै पनि अवस्थामा साधना गर्न नछोड्दो रहेछ । मेरो अनुभूति । अर्काको देश,ठाउँ,बस्ति,परिवेशमा दैनिक १२ घन्टा कामको खटाई अनेकानेक व्यस्तता र चुनौति संग सामना गर्दै भए पनि यसो चेपचाप बचेको केहि समयलाई सिर्जना गर्ने काममा नै लगानी गरेको छु ।

१३. तपाई साहित्य के को लागि लेख्नु हुन्छ, र साहित्य तपाईलाई के हो जस्तो लाग्छ ?

> स्वभावैले पनि म आत्मासन्तुष्टीको लागी गुजुल्टो परेका भावनाहरुलाई संगालेर लेख्छु र अन्तमा आफुमा भएका केहि चिन्मय अरु सम्म साहित्यका विधा मार्फत पुर्याउन सकौं जसले गर्दा केहि हद सम्म सान्त्वना,उपयोगिता र सन्तुष्टी मिल्न सकोस अरुलाई पनि । समग्र समाजको निम्ती समदर्शन भन्नु नै साहित्य हो । मात्रै भावना पोख्ने ठाउँ होइन,साहित्य आमुल परिवर्तनको महत्वपूर्ण माध्यम पनि हो ।

१४. साहित्य लेख्न कहिले देखि थाल्नु भयो, अनि यहाँले कुन-कुन विधामा कलम चलाउनु हुन्छ ?

> भावनाका छिट्टाहरु त करिव सानै देखि नै त्यो भेला लालीगुँरास कापीका उज्याला पन्नाहरुमा छरपष्ट्याउने गर्थें । सिर्जनामा रुची भने सानै देखि नै भएको हुनाले म नौं कक्षामा अध्ययन गर्दै गर्दा मा.वि. स्तरको "शिक्षा" शिर्षकमा कविता लेखन तथा वाचन प्रतियोगिता भएको थियो जसमा मैले पनि सहभागीता जनाएको थिएँ । अन्तत: मेरो कविताले प्रथम स्थान हासिल गर्न सफल बनेको थियो । र त्यसै बाट भने साहित्य प्रतिको मायाँ र लगाव अत्यधिक बढ्दै गएको मान्छु । त्यो भेला म सामन्यतय कविता र गीत विधामा कलम चलाउने गर्थें तर बिचमा आएर राजनैतिक उथलपुथलकै कारण कलम समाउन पाइएन । र हाल भने कविता,गीत र गजलका अलावा फुटकर रचनाहरुमा कलम चलाउने गरेको छु ।

१५. लेखनको विधा मध्ये तपाईलाई मन पर्ने विधा कुन हो र किन मन पर्छ ?

> मेरो निम्ती साहित्यका सबै विधा प्रिय छन् । सबै विधामा कलम नचलाए पनि खोजि खोजि पाठकीय नाताले पढ्ने गर्छु । यद्धपी मैले कलम चलाउँदै आएको कविता,गजल र गीत अति प्रीय लाग्छन । लघु रुप भित्र सम्पूर्ण जगत र जीवन पाउँछु ।

१६. यहाँको लेखनको बिशेष प्रेरणा के लाई मान्नु हुन्छ ?

> जीवन यात्रामा बटुलेका अनुभव,अनुभूति सँगै मेरा आदर्णीय अग्रजहरु र पाठक शुभचिन्तकहरु ।

१७. आज भोलि स्वदेश तथा बिदेश बाट धेरै कृतिहरु प्रकाशनमा आई रहेका छन्, र आउने क्रम जारी नै छ, तर स्वदेश बाट प्रकाशन हुने कृती र विदेश बाट प्रकाशित हुने कृतिमा तपाई के फरक पाउनु हुन्छ ?

> पाठकहरुको तुलनामा यसलाई मुल्यांकन गर्न सकिन्छ । विदेशमा साहित्यानुरागी - पाठकहरुको सङ्ख्या तुलानात्मक हिसाबले पनि कमै पाइन्छ । त्यसै माथी अरुको आदेसमा चल्नु पर्ने- दैनिक कार्यव्यस्तताको कारण पनि पुस्तकहरु पल्टाउने समय सम्म नहुने अवस्था हुन्छ । तर नेपालमा कम्तिमा पनि विदेशको तुलनामा ७५ % पाठकहरु पाईन्छन् ।

१८. तपाई त एउटा गीतकार मात्रै नभएर डान्स र गायन तिर पनि रुची राख्नु भएको छ, तर यहाँको दिर्घकालिन योजना चाहिं के होला ?

> लेखन क्षेत्रमा म साधनारत छु र यो क्रम कतै भंग हुन दिने छुइन जीवन भर चलिरहने नै छ । अँ ! डान्स भन्नु हुँदा खेरी म विगत तिर पो धकेलिएछु । नृत्य मेरो अत्यधिक रुचीको बिषय थियो र म २२ बर्षको यो उमेर सम्ममा करिव १० वर्ष त अध्ययन संग संगै नांचेरै व्यतित गरेको थिएँ । के गर्ने हरेक क्षेत्रमा पहुँचकै आवश्यकता पर्दो रहेछ । पहुँच र अवसरको अभावले गर्दा विस्तारै ति रुचीका विषय पानी नहालेको डालीको फूल झैं ओइलंदै गए । डान्स मेरो विगत थियो र विगतमा नै सिमित रह्यो यसको कुनै दिर्घकालिन उद्धेश्य छैन । बाँकी, मेरा रुची भित्र पर्ने साहित्य र गायन क्रम भने निरन्तर चलि नै रहने छ । भोलिको दिनमा गएर कहाँ सम्म पुग्न सफल भइन्छ त्यो त गर्भ भित्रकै कुरा हो हैन ! यद्धपि केहि दिर्घकालिन योजनाहरु छन् सायद छिट्टै यहाँहरु माझ लिएर आउने छु ।

१९. तपाइले भर्खरै मात्र एउटा गीती संग्रह यात्रामा छु आफै बजारमा ल्याउनु भयो, पाठकहरु बाट कस्तो फीडब्याक पाईरहनु भएको छ ?

> मेरो पहिलो कृतिको रुपमा ल्याएको "यात्रामा छु आफैं" गीतिसंग्रह अहिले सर्वत्र वजारमा उपलब्ध छ । यस सङ्ग्रह भित्र राष्ट्र प्रतिको मायाँ,परदेशीको कथा व्यथा,प्रेम-वियोग र मानवता यी यित्यधी भावहरु संग मितेरी गाँस्दै लेखिएका गीतहरु समेटेको छु । बल्ल तल्ल यस सङ्ग्रहको पाण्डुलिपि तय गरें र एउटा बझ्यांग पार गरेको महशुस भयो तर फेरी अर्को तनावले लात हान्न थाल्यो कहाँ बाट र कसरी पुस्तकको रुप दिने ? भनेर,तर सौभाग्यको कुरा मैले सबै तिर बाट राम्रो साथ र मायाँ पाएँ फलस्वरूप सङ्ग्रह पनि बजारमा आयो । बजारमा आएको करिव १५ दिन भित्र ५०० भन्दा माथी नै पाठकको हातमा पर्न सफल बन्यो मेरो कृति र केहि सङ्ग्रह भित्रका गीतहरु पनि संगीतकार,गायकहरुले मन पराई दिनु भै रेकर्ड पनि गर्ने क्रममा हुनु हुन्छ,जसले गर्दा मलाई बाँकी काम गर्ने उर्जा मिलेको छ । म अत्यन्तै खुसी छु । अहिले सम्म अत्यन्तै राम्रो फिडब्याक पाई रहेको छु भन्नु पर्छ । जसको लागी सम्पुर्ण प्रिय पाठक मनहरुमा हार्दिक धन्यवाद भन्न चाहन्छु ।

२०. पहिलो कृती यात्रामा छु आफै पछी अब फेरी दोस्रो कृति गजल सङ्ग्रह र गीती एल्बम "बेदनाका छालहरू" पनि संगै स्रोता/पाठक माझ ल्याउदै हुनु हुन्छ, तर यी सब कार्य एकै चोटी गर्दा अलि हतार गरे जस्तो भएन र ?

> पक्कै पनि अहिले आएर मलाई त्यस्तै लागी रहेको छ । मेरो प्रकाशोन्मुख कृति गजल संग्रह जुन "फिराक यात्रा" छ सायद यसलाई भने अलि ढिला नै पाठक माझ ल्याउं कि ! भन्ने योजना बनाउँदै छु । मेरो अनुशीलनले केहि खार्नु पर्ने आवश्यकता देखेको छु । यसर्थ अब यसलाई केहि समय थाँती राखेर एल्बमलाई नै प्राथमिकता दिने सोंचमा छु । यो आउन लागेको एल्बम जुन "बेदनाका छालहरू" गजलगो / नव गायक किरण मेयोङ्ग्बा र मेरो संयुक्त एल्बम हो । हामी दुई जनाको आफ्नै शब्द / स्वर र नेपालका ख्यातिप्राप्त बरिष्ठ संगीतकार एवं गायक बालन्द राईको एकल संगीतमा आउन लागेको छ । यो हाम्रो प्रथम एल्बम रहेको कारण समस्त श्रोता,शुभचिन्तकको अमुल्य मायाँ,साथ र सुझाबको आवश्यकता पर्दछ र यहि आपेक्षा पनि राखेका छौं ।

२१ . तपाइको गीती संग्रह यात्रामा छु आफै र प्रकाशन्मोख गजल संग्रह अनि गीति एल्बम "बेदनाका छालहरू" को बारेमा पाठक/स्रोताहरुलाई के कस्तो जानकारी दिनुहुन्छ ?

> प्रथम त साथ,सल्लाह,सुझाब र प्रतिक्रियाको ठुलो आशा राख्दछु,जसले गर्दा कयौं कमजोरीहरुलाई सुधारेर लाने सहयोग मिल्ने छ । अहिले बखरै प्रकाशनमा ल्याएको मेरो गीतिसंग्रह "यात्रामा छु आफैं" सबै तिर पुर्याउने कोशिस गरेको छु / गरिरहेको पनि छु । ज-जस्ले हात पार्नु भएको छैन तपाँई सम्पूर्णलाई उपलब्ध गराउने भरपुर प्रयत्न गर्नेछु र कृपाय पाई सक्नु भएका र पाए पश्चात सल्लाह,सुझाब र प्रतिक्रिया दिन नभुल्नु होला । हुन त सोंचे जत्तिको नहुन सक्छ किन कि शुभारम्भका गीतहरु पनि समेटेको छु बाँकी दिनमा अलि राम्रो पस्कने बाचा गर्दछु । र छिट्टै प्रकाशोन्मुख गजल संग्रह र संयुक्त एल्बम पनि यहाँहरु माझ ल्याउने तयारीमा रहेको कारण पर्खाइमा बसिदिन हुन आग्रह पनि गर्दछु ।

२२. तपाईलाई मन पर्ने लेखककाई चिनाउनु पर्दा कुन लेखकको कुन कृती बाट चिनाउनु हुन्छ ?

> यो सवालको जवाफ मैले अहिले सम्म जत्ति पनि पढेको कृतिहरु छन् ति नै कृति र लेखकहरुमा समर्पित रहने छ ।

२३. तपाईलाई मैले सोध्न छुटेका र तपाइले केहि भन्न भुल्नु भएको केहि छ कि ?

> साहित्य आफैंमा पवित्र छ यसर्थ यसलाई हामी सबैले मायाँ गरौँ । जसले गर्दा साहित्यले अझ उन्नति र प्रगतिको शिखर चुम्न सफल बन्ने छ । यसमा सर्जकको जति ठुलो महत्व रहन्छ त्यति नै पाठकको पनि महत्व रहने छ ।

२४. अन्त्यमा.

> मेरा अग्रज लगायत सहयात्री र शुभचिन्तक मनहरु प्रति हार्दिक धन्यवाद भन्न चाहन्छु,यहांहरुकै साथ,मायाँ र शुभाशिषले गर्दा आज म यहाँ सम्म आइपुग्न सफल बनेको छु । त्यसै गरी हृदय देखी नै हार्दिक धन्यवाद भन्न चाहन्छु वार्ताकार प्रीय गजलकार एवं ग्राफिक डिजाइनर नवराज बुढा नविन उदाशी जी र ग्लोबल नेपाल न्युज UK लाई । यहाँले मलाई यो अवसर दिनु भयो आभारी छु / रहने छु । भेट्दै गरौंला हवस्त ...




गीतकार सुबास संगम राई