चर्चाको शिखरमा राजेश थापा

(बर्ष १ अंक ३७ मा सन स्टार साप्ताहिक रोल्पाबाट प्रकाशित)

-नवराज बुढा 'नवीन उदासी'

रुकुमिकी गीतकार (हाल न्युयोर्कमा बस्ने) पदमा लिंखा मगरको एकल शब्दहरुमा
नेपालका मुर्धन्य कलाकारहरुको सुमधुर स्वरहरुमा स्वर बद्ध गीति एल्बम
'नजर'मा  युबा संगीतकार राजेश थापाले आफ्नो एकल संगीत दिनु भएको छ|
सांगीतिक फाँटमा पहिलो संगीत भरेको एल्बमले मिडियाहरुमा निकै चर्चामा
लिएको छ| आजभोली उनि एफएम रेडियोहरुमा एल्बम बारेमा अन्तवार्ता दिन नै
व्यस्त पनि छन| अर्को गीत/गजलहरुको एल्बम 'केहि काँडा, केहि फूल' पनि
गीतकार तथा गजलकारहरुको संयुक्त एल्बममा पनि उनले आफ्नो एकल संगीत
प्रस्तुत गरि सकेका छन् भने अर्को बाल गीतको एल्बममा पनि उनले नै आफ्नो
एकल संगीत भर्दै छन्| उनको एकल संगीत रहेको ३ ओटा गीति एल्बम मध्य उनले
व्यवसायिक रुपमा अथवा सांगीतिक रुपमा 'नजर' बाट नै सुरु गरेका थिए| यसरी
युबा संगीतकार राजेश थापाले नेपाली सुगम संगीतमा आफ्नो छुट्टै पहिचान
बनाउन सफल भैसकेका छन्|

खास उनको पेशा त (अध्यापन) शिक्षण हो| तर संगीतलाई पनि आत्मसाथ गर्दै
पेशाको रुपमा नै अगाडी लग्न बाटो बनाएर यहि बाटोमा संघर्षरत छन्| उनि
एउटा कुशल शिक्षक भएर साना अबोध बालबालिकाहरुको भविष्य उज्ज्वल मात्रै
पारेका छैनन्| संगीत सिक्न चाहनेहरुलाई पनि संगीत सिकाउंदै पनि आइरहेका
छन्| संगीत सिक्नेलाई भन्दा सिकाउनेलाई धेरै गार्हो छ| किनकि आफ्नो अर्कै
पेशा छ| त्यस अलवा उनलाई समय मिलाउन पनि अलि मुस्किल नै छ| तर उनले सबै
सजिल्यै संग गर्दै आइरहेका छन्, र गरिरहेका छन्| राजेशले कहाँबाट संगीत
सिकेर संगीतका पारखीहरुलाई पनि संगीत सिकाउन थाले भन्ने बिषयमा उनले
आर.आर. क्याम्पस काठमाडौँ बाट सँगीत र अँग्रेजी साहित्यमा स्नातक संगै
'प्रयाग' सँगीत समिति इलाहाबाद इण्डियाबाट शास्त्रीय सँगीतमा बिम्युजसम्म
पुरा गरेर उनले संगीत भर्न र सिकाउन थालेका हुन्| उनले संगीत भरेका गीत
गजलहरुमा दीपक लिम्बू, उदय सोतांग, राजेश पायल राई, संगीता राना, सागर
अविरल जिसी, खुसेनेछो छाम्लिंग, श्रेयसी चेम्जोंग, अन्जु पन्त, रिमा
गुरुङ, मिलन अमात्य, स्वरुपराज आचार्य, निशा देशार लगायतमा थुप्रै चर्चित
गायक/गायिकाहरुले उनको संगीतमा स्वर दिएका छन्| यसरी रेकर्ड आदि कामहरुमा
उनका सहयात्रीहरु तिब्बत दर्लामी लगायत 'A Musician Studio' का मालिक
किश्वर थापा हुन्|

राजेश थापाको बाल्यकाल:

संगीतकार राजेश थापाको बाल्यकाल आफ्नो जन्मथलो काभ्रे जिल्लामै बित्यो|
एउटा मध्यम बर्गीय जनजाती बालक जसरी हुर्किन्छ त्यसरी नै मगर समुदायमा
हुर्कीएर बढेका हुन् उनि पनि । पहाडको मगर परिवारमा जन्मेको हुनाले उही
बाबु आमाले गर्ने मेलापात पैँचो–पर्म, खेतीपाती कार्यको साक्षी बन्दै,
दाजु दिदीहरुसँगै अघि–पछि लागेर स्कुल–घर गर्दै उनको बाल्यकाल बिटेको
थियो| त्यी बाल्यकालका रमणीय पलहरु सबै आज सम्झनामा मात्रै छन| उनको त्यी
अतितहरु साँच्चिकै अति प्रिय थियो| तर अब त्यी अतितहरु चाहेर पनि (हामी)
अतित तिर फर्किन सक्दैनौ| त्यसैले उनले संगीतका धुनहरुमा आफ्ना गाउँ
पाखामा गुन्जने सुमधुर धुनलाई नै संगीतमा धालेर प्रस्तुत गरेका छन्| यसरी
नै पहाडको स्वच्छ र स्वस्थ हावा पानीमा खेल्दै बाल्यकाल कतिखेर पार गरिएछ
पत्तै भएन उनलाई| थापा परिवाको पाँचौ सन्तानको रुपमा जन्मिएका हुन्| घरमा
उनका दाइहरु बाँसुरी बजाउनु हुन्थ्यो, मादल बजाउनु हुन्थ्यो, गितार
बजाउनु हुन्थ्यो| यसैको प्रभाब उनलाई पर्दै गयो र उनि संगीतमा लागेका
हुन्| यसरी घरमै बाद्यबादन हुँदा नै उनलाई कति खेर संगीतले तान्यो, उनि
थाहै पाउदिन भन्छन|

संगीत बारेमा उनको धारणा:

संगीत भन्न साथ हामी हुरुक्कै हुन्छौं| संगीत एउटा सुख दु:खको मनको भारी
बिसाउने चौतारी हो, र संगीतले हर मान्छेको मनलाई छोएको हुन्छ| संगीतलाई
यसो भानौकी- संगीत एउटा मनले अनुभूति गर्ने आनन्दको एउटा गुन्जायमान साधन
हो| तर संगीत के  हो ? भन्ने बारेमा सबैको आ-आफ्नै धरनाहरु प्रसस्त छन्
होला| वास्तबमा संगीत सर्वव्यापी छ। त्यसैले सबैको आफ्नै–आफ्नै दृष्टिकोण
र परिभाषा हुन सक्छन् । यस बिषयमा उनि यस्तो भन्छन- 'सुन्नेहरुका लागि
सँगीत अन्तरआत्माको परिभाषा हो।' हो सँगीत मात्रै पनि  एउटा यस्तो साथी
हो जो दुःख सुख को क्षणमा अभिन्न भएर साथै रहन सक्छ | त्यसैले
सँगीतकर्ममा लाग्नेहरुका लागि भने यो एउटा अथाह त्याग पनि हो, तपस्या पनि
हो र धैर्यता पनि हो। यसमा सँसारलाई नजिक्याउने एउटा अदृश्य शक्ति छ जो
अति शक्तिशाली छ अर्थात अहिलेको कालखण्डमा त युग परिवर्तन गर्ने अन्य
शक्तिहरु जस्तै यो एक प्रमुख बिधा हो।  यस्तै सँगीतकार राजेश थापा नेपाली
सँगीत क्षेत्रमा नयाँ नाम हो जस्तो नयाँ पुस्ताहरु हामी सबैलाई लाग्न
सक्छ| तर उनि संगीत क्षेत्रममा लागेको करिब एक दशक जति भैसकेको छ| यो
अवधिमा उनि संग गीत संगीत बारेमा धेरै जिज्ञाशाहरु र अनुभूतिहरु साट्न
पनि सकिन्छ| यस  अर्थमा उनको भोगाई र अनुभव संगै नाम पक्कै पनि नौलो
होइन।

हाल उनि संगीतकै सिलसिलामा देश बिदेशका थुप्रै साँगीतिक कार्यक्रमहरुमा
सहभागिता पनि जनाई सकेका छन्| आफ्नो लामो संगीत यात्रा अनुभबको  बारेमा
भन्नु पर्दा उनि यसो भन्छन- 'हेर्नुहोस रचनाकार, सँगीतकार अनि बाद्यबादक
भनेको पर्दापछाडीका हिरोहरु हुन्। जो गायक गायिकाको तुलनामा जनमानससमक्ष
कम परिचित भएपनि सँगीत बिधाको मेरुडण्ड भनेकै यिनीहरु हुन्। तर अनुहार
अगाडी देखिएन भनेर कहिल्यै बेकामे हुदैनौ।' यसरी उनि आफ्नो संगीत
क्षेत्रमा कहिले विभिन्न ईभेन्टमा सहभागीको रुपमा , कहिले रेकर्डिङ
स्टुडियोमा, कहिले अध्ययन, अध्यापन कर्ममा रहेर आज भोलि निकै व्यस्त
देखिन्छन्। यस सम्बन्धी तीता मीठा अनुभवहरु अवश्य भई नै हाल्छन् । उनको
हकमा पनि यी कुरा लागु हुने गर्दछन् । जिन्दगी जिउने क्रममा आउने यस्ता
क्षण तथा अनुभवहरुलाई आफुले आत्मादेखि रोजेको क्षेत्रले दिएको अमूल्य
उपहार ठानेर मनभित्रै साँची राख्ने गरेको कुरा पनि उनि बताउछन|

नेपालको सांगीतिक बजार:

घरबारी साहुकोमा राखेर लाखौं लगानी गरेर एउटा एल्बमको काम सबै गीतकार
आफैले गर्ने पर्छ| तर यसरी जति खर्छ गरे पनि यसको लागि लगानी उठाउन पनि
एकदमै मुस्किल अवस्था छ| यस बिषयमा पनि उनले आफ्नो धारणा यसरी व्यक्त
गर्छन-
'वास्तवमा नेपालको सँगीत बजार बिक्री बितरणको हिसाबले हेर्ने हो भने
शून्यप्रायः छ।' हुन् पनि हो, सरोकारवाला निकायबाट एउटा निश्चित मापदण्ड
लागु नभएको कारण पाइरेसीले सिँगो क्षेत्र नै आक्रान्त छ। एउटा सर्जकले
कति दुःख सहदै दिनरात खटेर आफ्नो पसिना र विवेक खर्चेर सिर्जना गरेको
हुन्छ| त्यसको मुनाफा त परै जाओस लगानीको एक प्रतिशत उठाउनु पनि सपनाको
कुरा बनेको छ। तर सुचना–प्रबिधिको यो जमानामा उसको नाम भने सँसारभरि
मिनेट भरमै फैलिने गर्दछ। जसको कारण जुनसुकै कुनाका पनि दर्शक स्रोताले
एउटा सर्जकको बारेमा जान्ने सुन्ने र हेर्ने मौका भने पाएका छन् । यो
सकारात्मक पाटो हो । यस अर्थमा दाम विनाको नामको क्षेत्र भएको छ| आखिर
हामी सर्जक बाँच्ने त आत्मखुसी र अनुभूतिमा मात्रै हो|

थापाको भावी योजना आदि:

संगीतकार थापाले संगीतमा मात्रै होइन, अन्य संघ संस्थामा पनि आबद्ध रहेर
काम गरिरहेका छन्| जो सबै जनहित र समुदायको लागि लागि परेका छन्| यस्तै
क्रममा उनि नेपाल सांस्कृतिक संघको केन्द्रिय सचिव (पद) मा रहेर पनि
आफ्नो संगीत यात्रा संगै काम गर्दै आइरहेका छन्| संगीत बाहेक अन्य
क्रियाकलापमा पनि उनको अन्य रुची र चाहनाहरु धेरै छन्| त्यी मध्ये
अंग्रेजी साहित्यको उनि चेला पनि हुन् । कहिले काहीं राम्रो अवस्थामा
रहेको बेला उनले गीत र कविताहरु  पनि कोर्छन। तर अँग्रेजी र नेपाली
साहित्य तथा बायोग्राफी पढ्न बढी मन पराउछन। यद्धपि  उनको भावी योजना पनि
सबै संगीत प्रेमीहरु लगायत संगीतका स्रोताहरुको सहयोग र साथ पाए यहि
क्षेत्रमै लागेर केहि गर्ने उनको मनशाय रहेको छ|  यतिकैमा उनि फेरी
भन्छन- 'शुभचिन्तकहरुको माया र सदभावविना एक्लो प्रयासले केही गर्न
नसकिने रहेछ।' त्यसैले तपाई हामी जस्ता जुझारु युवाहरु मिलेर अघि बढ्यौं
भने अवश्यम हामी आफ्नो स्थान सम्म पुग्न सफल पक्कै हुन्छौं। तर उनि विगत
लामै समयदेखि विभिन्न शैक्षिक सँस्थाहरुमा आवद्ध भई वालवालिकाहरुसँग नजिक
रही आएको हुनाले ती अबोध नानीहरुको लागि अझ केहि गर्न सोंचका साथ संगीत
यात्रामा अगाडी बढिरहेका छन्|





प्रकाशनमा सहयोग गर्नुहुने सरहरू नविन लोचन र खेमराज गाउँले प्रति आभारी छु|

,