बिसन्चो असार १० को (नियात्रा )

स्वप्नील निरब      

  छेउमै काली भुस परेर घुर्दै थिई/ तर म भने झन्डै २ घण्टादेखी ब्युँझैँ थिए/ झुलबाट फुत्त निस्केर ट्वाइलेट गए/ फर्केर आउँदा काली कमला जिऊ तन्काउदै थिई/ यद्यपी आँखा खुलेका थिएनन/ एक पटक घघच्याएर उठाउने प्रयत्न गरे/ तर अझै पनि त्यो उठिन/ म पनि घोप्टो परेर निदाउने प्रयत्न गरे/ तर बाहिर झलमल्ल भैसकेपछि आँखामा के निंद आउंथ्यो र? तर मलाई कालीको निंद देखेर अचम्म लाग्छ/ त्योसंग पहिलो पटक बुटवलमा भेटेकै दिनको रात त्यसको निंद थाहा पाएर म चकित परेकी थिए/ गीता खनाल र म दिनदिनै भेटिन्छौ कलेज,अफिसमा/ तर जब उनको घर बासै बस्ने गरी जान्छु,हामी रातभर कुरा गर्छौ/ कालीसंग भेटिनु अघि भेटीएपछी उनको र मेरो पनि यस्तै गफ हुन्छ होला भन्ने मेरो कल्पना बुटवलको बसाईसंगै हावामा बिलिन भएको थियो/
         अलि अबेर गरि दादा भाउजु(रमेश कंडेल) उठ्नु भयो/ अघिल्लो रात गफ गर्दै बसेर अबेर गरी निदाएको हुनाले अलि अबेरै उठ्नु भयो ब्युँझनु भयो होला/ त्यसपछि काली पनि उठी/ संगै हातमुख धोयौ/चिया पियौ,नुहाई धुवाई सक्यौ/ र काली टि.भी. रिमोट लिएर बसी,म त्यसैको बगलमा रमेश दादाको ल्यापटप खोलेर हराउन थाले इन्टरनेटको अनन्त दुनियाँमा/
          भाउजु खाना पाकेको सूचना लिएर आउनु भयो/ खाना खानु अघि सगोलमा दादा भाउजु संग फोटो लियौ/ खाना खायौ र एकैछिनको गफगाफ आराम पछी गाडी चढयौ भक्तपुर बालकोटबाट / कौशलटारबाट फेरी अर्को गाडी चढ्यौ/ रमेश दादा र काली एउटा सिटमा र म अर्को सीटमा एक्लै परे/ खासमा म आफै पनि एक्लै बस्न चाहन्थे-कारण जिऊमा बिसन्चो सुरु भैसकेको थियो/ एकातिर गन्हाउने गाडी अर्कोतिर बिसन्चो जीऊ/ खै त्यहि गन्हाउने गाडीको गन्धले बिसन्चो भएको हो कि? गाउँको स्वच्छ हावामा शैर गरेको बानी जो पर्यो/
         गाडीबाट ओर्लेपछि दादाले पानी किन्नु भयो/ भक्तपुरको ठुलो पोखरी छेऊमा बसेर शितल हावा लिदै पानी पिउदै गर्दा दादाले काली र मेरो किलिक्क तस्बिर लिनु भयो/ डल्ली शिरको बिसन्चो ह्वात्तै भुलेर हल्ल हांसी/ काली पनि मन नलागी नलागी डल्लीसंगै हल्लिई(हांसी )/ हामी छेऊमै बसेर केहि ठिटाहरु माछालाई खुवाउदै रमाइलो गर्दै थिए/ कोहि भने लुगा फुकालेर पौडदै थिए/ उनीहरु पौडदै गर्दा मैले पनि आफ्नो बालापनका दिनहरु सम्झे/हामी पनि बच्चैमा खुब पौडी खेल्थ्यौ,असारमासको उर्लदो काली नदीमा स-साना बुदुना माछा जस्तै नांगै भुतुंगै पौडन्थ्यौ/ अनि तातो बालुवामा घोप्टिएर कस्तरी खेल्थ्यौ/ साँच्चै कति रमाइलो दृश्य त्यो / म खुब रमाए/ कालीको चेहेरा त झन् क्या हँसिलो र सुन्दर लाग्दै थियो'/ आहा! जिन्दगीको सारा बोझ बिर्सेर त्यसरी क्षणिककै लागि भएपनि प्रकृतिसंग रमाउनुको बेग्लै आनन्द हुँदो रहेछ/
    भक्तपुर दरवार स्क्वायर घुम्यौ/ त्यहाँका ऐतिहासिक दरवार,मन्दिर,चोक गल्ली,मन्दिरका टुंडालमा कुँदिएका विविध आकृति.../ तर मलाई ती सबै सबै ठाउँ घुम्नु र हेर्नु भन्दा पनि आनन्द त कालीसंग निकै आत्मीय भएर,हात समाएर,त्यसको मनसँग छोइएर तस्विर लिनुमै थियो/ त्यसै माथि रमेश दादाले निर्वाह गर्नु भएको अभिभावकत्वको त झन् के कुरा गरूँ?
         अब समय घर्कदै थियो/ हामीले छिटो भन्दा छिटो ती सव रमाइला दृश्यहरु छाडेर गन्तव्य तताउनु पर्थ्यो/ दरवार स्क्वायर छाड्नेबेला कालीले अनायासै भनि-लौ कृष्ण धरावासीको टुंडाल पनि पढेर सकियो/ मैले पक्क परेर कालीलाई हेरे/ दादा हाँस्नु भयो/ वास्तवमै कालीले कति चतुर पाराले त्यसो भनेकी थिई/
       गाडीले कौशलटार लगेर मिल्कायो/ रमेश दादाकै सौजन्यमा १/१ गिलास जुस पियौ/ कालीले दहीको रहर गरि/त्यसैमाथि अर्को १/१ गिलास दहि थपियो/ अहो! डल्लीको बिसन्चो जिऊमा झनै बिसन्चो थपियो/ तै चुपचाप दादा र कालीको पछी पछी लागे/ दादाको घर बालकोट पुग्नासाथ फेरी पिरो खुर्सानी नुन र उसिनेको आलुको भाग थुप्रियो-अगाडी/ भाउजूले टकार्नु भएको त्यो आलु यो खन्चुवीले अलि थोरै खाइ/ तर खान चाहिं खाइ/ खाने बेलामा र खाने काममा आजसम्म कुनै नाइले रोकेको छैन नि त/
          समय पुरै घर्किईसकेको थियो/ अब पनि नहिडे त्यसदिनको सबै भन्दा महत्वपुर्ण कार्यक्रम छुट्ने सम्भावना थियो/ अतः भाउजुसंग हतार हतार छुत्यु/ दादा साथमै हुनुहुन्थ्यो/ गाडी चढेको ५/७ मिनेटमै असारले आफ्नो असली रुप देखाई हाल्यो/ राजधानीको यात्राको के कुरा गर्नु? पाइलै पिच्छे रोकिनु,मान्छे माथि मान्छे थपिनु...../ उफ! त्यसै माथि यो डल्लीको खन्चुवी बिसन्चो/ बल्ल बल्ल सम्बन्धित ठाउँमा पुग्यौ तर गन्तव्य छुन अझ बाँकी नै थियो/ मान्छेको भिडमा उभिएर,असारे झरीमा आधा छातामा ओतिदै,आधा भिज्दै ऋतुलाई पर्खन थाल्यौ/ अबेरमाथि ऋतुले अर्को अबेर लिएर आइन/ ४ बजे पुग्नु पर्ने कार्यक्रममा झन्डै सवा पाँच बजे मात्र पुग्यौ/
         गन्तब्य छुने बित्तिकै डल्लीको बिसन्चोले ह्वात्तै शीर छोड्यो । चारैतिर नियाले । ऋतु छेऊमै थिइन्।काली पछाडि थिइ । दादा खै कता हुनुहुन्थ्यो । यसो ठूला पाहुनाको बगलमा एउया मंगोलियन चेहरा देखे । भर्खरै बिसन्चोले छाडेको शीर हल्लाउदै ऋतुलाई भने-ऋतु वहाँ नै हैन मनु लोहरुङ ?
         खास म काठमाडौ आउनुको उदेश्य थियो-कवि मनु लोहरुङको कविता संग्रह लुङमारी मिथकको बिमोचन । हामी पुग्नु अगावै पुस्तक बिमोचन भैसकेको थियो । हामी पुग्दा साहित्यकार मोमिला ज्यू आफ्नो मन्तब्य दिदै हुनुहुन्थ्यो । वहाँले आफ्नो मन्तब्य सके लगत्तै बाहिरिनु भयो । ठुलो लेखकको यो ताल देखेर यो डल्ली खिस्रिक्क खुम्चिइ । तर फेरि सोची-ठुला मान्छेको ठुलै चटारो ।
       हाम्रै गाउँठाउँ अझ भनु हाम्रो रामपुर दर्छा सेरोफेरोको भन्दा कैयौ बढी भड्किलो त्यो कार्यक्रमको मुख्य आकर्षण भनेको (मेरो लागि) कृष्ण धराबासी,मनु लोहरुङ र राजन मुकारुङ हुनुहुन्थ्यो । हुन त अरु अतिथी पनि कम त होइन । तर मेरो आँखा कहिले मुकारुङ त कहिलो ळोहरुङमा पुगेर अडिन्थे । म ती तीन जनाको सेरोफेरोमा घोरिइरहे ।पहिलो पटक प्रत्यक्ष देखेको तर दोहोरो कुराकानी नभएको लेखक प्रति त्यति चासो हुनुको खास कारण थियो-ती दुई लेखकको हाँसो । वाफरे ! हाम्रा आमा भाउजुहरु मेलापात गरेर घर फर्कदा थकानले गर्दा कसैले हँसायो भने मन नलागी नलागी अड्किदै अड्किदै खित्त्खित्त खित्त्खित्त गर्नुहुन्छ,त्यसै गरी वहाँहरु खित्किइरहनु भएको थियो । त्यसो तत्यहाँ उपस्थित सबै जसो लेखक खित्किई रहनु भएको थियो/ तर मेरो ध्यान भने मुकारुङ र लोहोरुङ बाट हटे पो/
       धरावासी जीले मन्तव्यको विच विचमा रमाइला प्रसंगहरु जोडेर खुव हँसाउनु भएको थियो/
          साहित्यकार कृष्ण धरावासी ले लुङमारी मिथकका बारेमा केहि बोल्ने क्रममा त्यस भित्रका कविता र अमुर्तबोधी दर्शनका प्रवातक कवि लेखक खगेन्द्र पन्धाक्ले आफ्नो भूमीकामा लेख्नु भएको यो वाक्य-यहाँ संकलित सप्पै सप्पै अलभ्य कृतिको इजलास म दिने छैन/ र यो इतर चर्चा पनि होइन कि,तर आज देखिएका कविहरु माझ यो संग्रहका स्रष्टा एक बिछट्ट बिशिट्ट र उपल्लो क्षेणिका कवि हुन् भन्ने म सार्वजनिक घोषणा गर्छु लाइ लिएर भन्नु भएको थियो-मनु बहिनी खगेन्द्र जीले लेख्नु भएको कुरामा थोरै बिस्वाश गर्नुस र थोरै अबिस्वाश पनि/ अर्को प्रसङ्ग पनि जोडौ-धरावासी जीले लूंमारी मिथाक्मै संग्रहित कविता परदेशमा रहदा घरदेश र लूंगाको झल्को कवितामा अभिव्यक्त

तेसो र लुङ्गा हाम्रो त टेरलिनको गिदी रहेछ
मार्सी धनको भाते आइरन लागेको
जैतुनको दानाले छाक बस्ने यहुदीहरुसंग
भोकको सन्तुस्टी सिक्दैछु
         हरफलाई लिएर भन्नु भएको थियो-यो संग्रहको नाम जुराउने मौका यदि मलाई मिल्थ्यो भने म यसको नाम 'टेरलिनको गिदी' राख्थे/
         सुन्दा सामान्य / तर गम्भीर र प्रतीकात्मक छ यो वाक्य/ हाम्रा बाबु बाजेले टेरलिनको लुगा लगाएको कुरा गर्नु हुन्थ्यो/ तर टेरलिनको गिदी त म पहिलो पटक सुन्दैथे, पढ़दैथे/ कवि मनु लोहोरुङले प्रयोग गर्नु भएको यहि एक शब्द र यसले मेरो मनमा पारेको प्रभाव संगै वहांको काव्यकारिता बुझेर म निकै नतमस्तक बनेकी थे/
        कार्यक्रम सकिनु अघि(औपचारिक) संगै बसेकी मोटी मोटी दिदीसंग चिनजान गर्न भ्याए/ वहाँ हुनुहुन्थ्यो-हाम्रै पाल्पाली दिदि सीता बिष्ट कार्की/ आहा! डल्लीको पाल्पाली शीर उँचो भयो/
         कार्यक्रम पश्चात कवि लेखकहरुको फोटो सेसन सुरु भयो/ प्रतक्ष्य नभेटिएका तर इन्टरनेटको दुनियाँमा भेटिनु भएका उमा सुबेदी,बिद्या सापकोटा लाइ थम्म्याउन बल लगाउने परेन/ कवि मनु लोहोरुङ को त झन् के कुरा? औपचारिक परिचय हुनु अगावै एउटा हातले छड्के अंगालेर आत्मियता दर्शाउनु भयो / त्यही मौका छोपेर मैले प्रश्न गरिहाले-आबुई! हजुर मलाई चिन्नु हुन्छ?
‎        'हैन नचिनेर त्यसै अंगालेको नि!'
        क्या गजव! यो डल्ली पनि पहिल्यै झ्वाँकमा चिन्निई/ अझ त्यति मात्र हो र? साहित्यकार दीपक खड्का,मित्र तिब्बत दर्लामी पनि चिनिनु भो/ दीपक दाइले म,ऋतु,कमला, लगाएत अरु धेरैलाइ आफ्नो उपन्यास 'च्यात्न नसकेको चिट्ठी' बाँड्नु भयो/ यत्रो लेखकको भिडमा म दंग पर्दै गरेको बेला बिद्या सापकोटाले भन्नु भयो-स्वप्निल नीरव त मैले सुरुमा केटा मान्छे भन्दै थिए/ झनै गजव लाग्यो/
       कार्यक्रम पछि चिया नास्ताको राम्रै व्यवस्था रहेछ/ चिया खाजाको नाम सुन्ने बित्तिकै यो डल्लीको बिसन्चो बुर्लुक्क उफ्रेर फेरी शीरमा चढ्यो/तर त्यत्रो साहित्यिक मान्छेको भिडमा बसेर खानुको शानै अर्कै/ उभिएरै खायौ/ तर खानु भन्दा ज्यादा आत्मीय गफगाफ बढी चल्यो/ गफगाफकै क्रममा मैले आफ्नो मनको कुरा ब्यक्त गरे-लेखक बन्न राजधानीनै आऊ इ क्या हो? तर तिब्बत जीले अंकुश लगाउदै भन्नु भयो-तर हैन स्वप्निल जी, मलाइ लाग्छ, लेखक बन्न विदेश जानु पर्छ/
          एक हलको मेलो मज्जैले हाँसियो/
         वास्तवमै त्यस दिनको त्यो कार्यक्रमले मेरो जिन्दगीमा बिशेष महत्व राख्छ/ हुन त त्यस्ता कैयौ कार्यक्रम हुन्छ,कवि लेखकसंग भेट हुन्छ/ तर त्यसरी आत्मीय भएर अलिकति कुरा गर्ने समय कमै लेखकलाई हुन्छ/ तर जेहोस त्यो दिनले मेरो लेखन कर्मलाई निरन्तरता दिन ठुलो उर्जा दियो/ कसैले भनेन कि,तिमी लेख्न नछाड, तर म आफैभित्र अनायास उत्साह पलायो-मैले निरन्तर लेख्नु पर्छ/ हुन सक्छ मेरो लेखन अझै काँचै छ, तर काँचै टर्रो सहि, निरन्तर अभ्यास र कोशिसले एकदिन गुल्यो गुनिलो सिर्जना मबाट पनि अवस्य जन्मिनेह्च भन्ने बिश्वाश मैले त्यसैदिन कमाए/
        त्यसदिन सबै बुझेर पनि मैले नबुझेको कुरा हो-ठुला लेखकको व्यस्तता/ आफ्नो मन्तव्य राखिसकेपछि छिट्टै बाहिरिई हाल्ने प्रचलनले कता कता कटक्क मन दुखेकै हो/ हुन त हामीले वहाँहरुको व्यस्ततालाई बुझ्नु पर्छ/ तर १/२ घन्टाको कार्यक्रम अवधिभर हाम्रा आदरणीय लेखकहरुको छायामा बस्न र वहाँहरु बाट केहि सिक्न म जस्तै बामे लेखकहरुले अवस्य चाहन्छन/
           २०६८ साल असर १० गतेको त्यो कार्यक्रम सकेर टेम्पोबाट कालीको कोठातिर फकदै गर्दा बिसन्चो शीरमा यहि बोझा खेलिरह्यो-ठुला लेखक त्यसरी बिचमै उठेर नहिड़ी दिएको भए.....!


 
भक्तपुर दरबार स्क्वायरमा काली र म
 
    दुई बहिनीको बिचमा दादा रमेश कंडेल