जिबन भोगाईको प्रतिबिम्ब कृती समिक्षा- श्रीजन श्री



गजल संग्रह
कृति: कालो बादलभित्रको चन्द्रमा
विधा: गजल
गजलकार: दीप दर्शन
प्रकाशक: त्रिभुवन शाही
मूल्य: ६०
संस्थागतः १५०

“कालो बादलभित्रको चन्द्रमा ”दीप दर्शन व्दारा सिर्जित गजल संग्रह हो ।
जम्मा ६० वटा गजलहरु समावेस गरिएको यो संग्रहमा ५१ वटा मुरद्धफ र ९ वटा गैर मुरद्धफ गजलहरु रहेको देखिन्छ । काफियाका दृष्टिले ४६ वटा पूर्ण काफिया, १०वटा आंशिक काफिया र ४वटा काफिया विहिन गजल (उसो त काफियारहित रचनालाइ गजल भन्न मिल्दैन ।) राखिएको देखिन्छ संग्रहमा । आधा मुसलसल र आधा गैर मुसलसल गजलहरु रहेको संग्रहमा, २२वटा शृङ्गारिक, २वटा सूरापान, एउटा लोक, एउटा नारीवादी, ४टा गजलकै विषय उप्काइएका र बाँकी राजनैतिक मूल्य विघटन,अन्याय अत्याचारको बिरुद्द,गरीवि चित्रण,सीमा अतिक्रमण,जीवन प्रतिको आशा–निरासा र कुण्ठा, प्रवासी पीडाका अतिरिक्त विविध प्रकारका विकृति–विसङ्गती विरुद्द मात्र नभइ श्रमीकहरुको आवाज समेत अभिगुञ्जित भएका गजलहरु राखिएकाले पनि संग्रह वहुमूखी बनेकोछ भत्र सकिन्छ ।
यो छोटो

बसाइमा संग्रहको शल्यक्रिया गर्न असम्भव छ र यो समिक्षा भन्दापनि संग्रहमा देखिएका केही कमजोरीहरु औल्याइदिने प्रयास हो भत्रे बुझीदिन पाठकहरुलाइ निबेदन गर्दछु । यहा “श्रीखण्डलाइ सुठो र सुठोलाइ श्रीखण्ड पनि बनाइन्छ ।”तर छातिमा हात राखेर लेख्ने हो भने कमजोरी औल्याइदिनु भनेको सर्जकलाइ आगामी यात्राकोनिम्ति मार्ग प्रसश्त गरिदिनु हो भन्ने बुझेको छु मैले । “जसले साहित्यलाइ जीवन सम्झन्छ, उसले गाली रुचाउछ र जसले साहित्यलाइ साधन सम्झन्छ, उसले ताली रुचाउछ ।”एउटा इमान्दार सर्जकका निम्ति आलोचना सर्वदा स्वीकार्य हुन्छ र हुनु पर्छ पनि । पाठकहरुलाइ के पनि निवेदन गर्न चाहन्छु भने यहा केही मूल प्रवृतिहरुको मात्र उठान गर्ने प्रयास गरिएको छ । र दोष इतरका विषयहरु स्वतः उज्याला र राम्रा पक्षहरु हुन् । जस्को बारेमा बोलीरहनु उचित लागेन । हुनपनि सूर्यलाइ नाङ्गो आँखाले कतिञ्जेल पो हेर्न सकिन्छ र ?
मनमोहक वगैचाहुन् बेकामे झार होइनन् ।
सुमधुर स्वरका धनीहुन छिनेका तार होइनन् । ( गजलः२ )

गजलकार दोस्रो गजलबाटै चिप्लिएकाछन् । “अस्पष्टता नामक”दोषले ग्रस्त छ यो शेर । यहा “ मनमोहक वगैचाहुन् बेकामे झार होइनन् ।”कसलाइ \के लाई भन्न खोजिएको हो स्पष्टछैन । भनिन्छ, उलाले कौतुहलता सिर्जना गर्नुपर्छ । ल एकै छिनका निम्ति कौतुहलता जन्माएको मानौ यो मिसराले । उसो त कौतुहलपूर्ण छ पनि । तथापि मिसरा–ए–सानीले कौतुहलताको उचित समापन, ( विषयको औचित्य पुष्टि ) त गर्नु प¥यो नि हैन र ? तर यहा त्यो देखिदैन । बरु “सुमधुर स्वरका धनीहुन छिनेका तार होइनन् ।” भनेर सानीले अर्को प्रश्न खडा गरिदिएको अवस्था छ । यसरी उलाले मनमोहक वगैचा र झारका र सानीले सुमधुर स्वर र तारका कुरा उप्काएका यी मिसराहरु वीचको तालमेल समेत खच्पचिएकाले “असम्बद्धता दोष” ले समेत छोपेको छ यो शेरलाइ । संग्रहका अन्य केही गजलहरुमा पनि यस्तै पवृति दोहोरिएको छ ।
म त हजुर सारै सोझो एउटा गाउले ठिटो परेँ,
तिम्लाइ पनि सोझी ठानी चोखो माया लाएँ मेले । ( गजलः११ )
यहा भावका दृष्टिले मिसराहरु वीचको तादात्म्यमा कुनै कसुरछैन । सतहीरुपमा हेर्दा अन्य दोषहरु भेट्टाउन पनि गाह्रोछ तर भित्रै पसेर हेर्दा एउटै गजलको उलामा अति उच्च आदरार्थी वर्णगुच्छ हजुर र सानीमा तिमी जस्तो सामान्य आदरार्थी सर्वनाम आएकाले “असम्बद्धता दोष”चाहि खट्केको मान्न सकिन्छ ।
यूवासबै \विदेशतिर \खुन पसिना \बगाउने ,
दलालीलाइ \रकम न अ\ सुल्न देउ ए\हाम्रा नेता\हजुर ।
यो शेरले मानव वेचविखन विरुद्द घनघोर आवाज उठाएकोछ । देशका कर्णधारहरुलाइ विदेश पलायन गराएर राजनीतिगर्ने नेतृत्वपंति,गरिवका खुनपसिनामा मोजमस्ती गर्ने दलालहरु र आफ्नै पैसामा वेचिएर खुन पसिना बगाइ रहेका श्रमीकहरु प्रतिको दृष्टिकोण बडो मिहिन भएर उप्काइएको छ यहा । परन्तु लयका दृष्टिले शेर जगल्टिएको छ । लय गजलको निर्विवाद र अनिवार्य सर्त मानिनु पर्छ । प्रत्येक मिसराहरु पढ्दा लाग्ने समय यसो भनौ ki यति गतिको ठिक–ठिक पालना,अक्षरगत र मात्रागत एकरुपताको अनिवार्य निर्वाह भएकैहुनु पर्दछ गजलमा । गजल गाइने विधा भएकाले पनि लय बढि अपेक्षित हुन्छ यसमा । माथिको शेर अक्षरगत \ मात्रागत वा अन्य जुनसुकै कोणबाट हेर्दापनि लयात्मक बत्र सकेको छैन । उसो त संग्रहका अन्य केही गजलहरुमा पनि लयसंकुचनता देखीएकाले संग्रहमा बादल लागेकोछ भन्न सकिने साक्ष्यहरु धेरैछन् ।

तिम्रो दिलको मझेरीमा मलाइ वास देउ न लै लै ।
सधै तिम्रो ममताको मिठो गास देउ न लै लै ।

अजम्बरी को हुन्छ र, दुइदिन बाच्दा साथ देउ,
ढुकढुकी चलाउन थोरै साहस देउ न लै लै । (गजल :३० )
०००

लोकतन्त्र ल्याउने पनि आफू नै परियो साथी ।
राजतन्त्र हटाउने काम पनि गरियो साथी ।

सहमतिका हस्ताक्षर मेटिदै गा‘का छन् रे ?
आखिर यस्तै भने त के लछारियो साथी । (गजल :१८ )

०००
काफिया विहिन गजल, गजल होइन । गजलकार काफिया छनौटमा नराम्ररी चुकेका देखिन्छन् । (गजल ः३० )मा सामान्यतया वास\गास जस्ता काफियाको हमकाफियाको रुपमा आस,पास,सास,लास जस्ता पदहरु आउनु पर्नेमा“साहस”को “हस”ले हम काफियाको भार बोक्न सक्दैन । त्यसो त सास को ठाउमा प्राविधिक कारणले “साहस”आएको हो कि भन्न सकिने ठाउ पनि छ नै । तर (गजल ः१८ )को परियो\गरियो को हम काफियाका रुपमा प्रयुक्त “लछारियो”र ( गजलः३९ )को सगरमाथा\गाथा जस्ता काफियाको हम काफियाको रुपमा आएका कथा,व्यथा र जेथा वर्णगुच्छहरुलाइ के भन्ने ? उता ( गजलः ४) मा प्रयुक्त सा¥यौ,मा¥यौ,लछा¥यौ,चा¥यौ को हम काफियाका रुपमा त¥यौ जस्तो अनुप्रासभित्र काफियाको छनौट गरिएको छ । तसर्थ यी चारवटै रचनाहरु गजल बन्न सकेका छैनन् । अध्ययनको कमी, हतारमा सिर्जना गनर्,ु रचनाकारले आफ्नो सृजन कर्ममा सजकता नअपनाउनु वा अन्य यस्तै–यस्तै कारणहरुले यस्ता कमजोरीहरु हुने गर्दछन् । सामान्य अनुप्राससम्म न मिलेका “थोरै\मेरै\दूरै\धेरै, पक्का\ठेक्का\हुक्का\सिक्का, गाथा \जेथा\कथा\व्यथा” जस्ता वर्णगुच्छहरुमा नवसर्जकहरु अल्मलिनु स्वभाविक मात्र सकिन्छ तर दीप दर्शन जस्तो करिव एक दशक देखि गजल सृजनामा तल्लिन गजलकार पनि यसरी अल्मलिनु स्वभाविक मान्न सकिदैन । हुन सक्छ अन्य कुनै कारणले यी तुर्टिहरु आएका होलान् किन्तु संग्रहमै यसरी काफिया विहिन गजलहरु प्रकाशित भइसके पछि, संग्रह लाइ केही धक्का लाग्छ नै । उता ( गजलः १२ र २६ )मा काफिया पुनरावृति दोष रहेकाले दातमा ढुङ्गा लागेको महसुस हुन्छ ।
कालो बादलभित्रको चन्द्रमामा तखल्लुसको कतै सार्थक त कतै असार्थक प्रयोग गरिएको छ । कतै–कतै पेग,पाउडर,फेस जस्ता अंग्रेजी शव्दहरु त कतै हिन्दि–उर्दूका प्रचलित शव्दहरुको अनुकरण÷प्रयोग पनि गरिएको छ । तर पेग,पाउडर,फेस जस्ता शव्दहरुले संग्रहलाइ क्लिष्ट बनाएका छन् । एकाध गजलमा आफ्ना अग्रजहरुको प्रतिविम्व पनि उतारेकाछन् गजलकारले । अपूर्णता,दुरुहता,कालवाचक असम्बद्धता, विषय वाचक असम्बद्धता, कुरुपता,विक्षेप,शव्द संकुचन, वजन भङ्गता,वहर हिनता लगायतका दोषहरु कतै–कतै आएपनि संग्रह बेकामकै चाहि छैन ।
यो पहिलो गजल संग्रह हो दीप दर्शनको । पहिलो प्रयासमै पनि “कालो बादलभित्रको चन्द्रमा”ले बादललाइ चिर्ने साहस गरेको छ । रुपक र उपमा अलङ्कारको पुटपनि पाइन्छ संग्रहभित्र । भाषाको सालिनता र कथ्यको सटिकताले संग्रह बोधगम्य बनेको छ । तिख्खर र निख्खर भावाभिव्यक्तीले गर्दा संग्रहका कुनैकुनै गजलहरु दोहो¥याइ तेह¥याइ पढ्दा पनि धीत मर्दैन । शैलीगत लेपनता र साङ्गीतिक छटाले भरिएका केहि गजलहरुले पाठकहरुलाइ फूलमा पुतली झुम्मिए झै झुम्याउछन् । कुनै–कुनै गजलहरुले पानीमा आगो लगाउछन् भने कुनै–कुनै गजलहरुले आगोमा पानी खन्याउछन् । आशा र निरासाले थिल्थिलिएको यो संग्रह डायस्पोराको गजल साहित्यमा महत्वपूर्ण उपलब्धि हो ।
संग्रहको विशेषता भनेकै देखे भोगेका कुराहरुलाइ जस्ताको त्यस्तै पाठकहरु सामू पस्कनु नै हो ।

लैनोभैसी साउले लग्यो के को खानु खीर साथी ।
उनै जोत्छन् गैरीखेत झनै प¥यो पीर साथी । (गजलः ३२ )

०००
मोतिराम भट्टको नासो हो यो गजल ।
हिरामोति सूनचाँदी कासो हो यो गजल । (गजलः ४१)
०००
चुरापोते सिन्दूर लायौ त्यो दिनदेखि नेलमा हुन्छ्यौ ।
रहरफुल्छ पराइघरमा त्यो दिनदेखि जेलमा हुन्छ्यौ ।(गजलः २४)
०००
हेर्दाहेर्दै छलिगइन् विद्यानास ढाट्या भए ।
अर्कै सित चलिगइन् विद्यानास ढाट्या भए । (गजलः २१)

संग्रह पढिरहदा लाग्छ सरल र सरस वर्णगुच्छहरुको गठजोडमा सर्जक अत्यन्तै सचेतछन् । हिउले पोल्छ र घामले कठिङ्ग्य्राउछ भत्रेकुरा मात्र तयार छैन यो संग्र्रह । फूलको आगो र आगोका फूल फुलाउनु भन्दापनि जीवन र जगतसँग साक्षातकार गर्दै भोगाइको प्रतिविम्व उतार्न उद्यत देखिन्छ संग्रह । यसर्थ पनि यो संग्रह, जीवन भोगाइको सघन दस्तावेज हो भन्न सकिन्छ । यतिखेर यति भनौ कि कालो बादलभित्रको चन्द्रमामाले कालो बादल र दीप दर्शन भित्रको “दीप”ले कालरात्रीलाइ अवश्य चिर्नेछ । हार्दिक शुभ कामना.................

– श्रीजन श्री