सृजनाका स्वरहरुमा एक नजर कृति समिक्षा

                                                                                                -  श्रीजन श्री

सृजनाका स्वरहरु 
कृति ः सृजनाका स्वरहरु 
विधा ःगजल
 प्रकाशन वर्ष ःजनाइएको छैन
प्रकाशक ःउँदाउदो तारा साहित्य समाज पेनाङ्ग,मलेसिया
सँख्या ः१००१ प्रति
मूल्य ः रु १५०
सम्पादक ः जीतमान राइ “सबिन” र अन्य

                         उदाउँदो तारा साहित्य समाज पेनाङ्ग,मलेसियाद्धारा हालसालै मात्र प्रकाशित संयुक्त गजल संग्रह हो,सृजनाका स्वरहरु । जसमा ४६ जना सर्जकहरुका प्रत्येकका ५÷५ गरि जम्मा २२० र एकजना कृष्ण आलोकको सर्जकीय सहित ६ वटा र रशिक शर्मा ‘निश्चल’का ३ वटा समेत गरि जम्मा २२९ वटा गजलहरु समाविष्ट भएका छन् । देवी नेपाल र ज्ञानुवाकर पौडेल जस्ता नयाँ र पुराना पुस्ताका गजलकारहरुको भूमिका रहेको संग्रहको सम्पादन जीतमान राई ‘सविन’, गणेश महतरा हिमाली, दीप दर्शन र कृष्ण आलोक लगायत को मण्डलीले गरेको छ । १४० भन्दा बढी पूर्ण काफिया, ५० भन्दा बढी आंशिक काफिया, एउटा एकाक्षरी काफिया, ५ वटा दैध काफिया, डेढ दर्जन जति मिलित÷मिश्रित काफिया र ८÷९ वटा गजलमा काफिया विचलन रहेको संग्रहमा रदिफका हिसावले १०० भन्दा बढी पदमुलक रदिफ, १०० कै हाराहारीमा पदावलीमुलक रदिफ, र ४ वटामा वाक्यात्मक रदिफको प्रयोग गरिएको छ। गजलका प्रकारका दृष्टीले २२ वटा गैरमुरद्धफ र २०७ वटा मुरद्धफ गजलहरु रहेको कृतीमा विषयगत रुपमा १०५ भन्दा बढी मुसलसल र बाँकी गैरमुसलसल गजलहरु रहेका छन् । ६ देखि २४ बर्णको सम्मको आयातनका गजलहरु रहेको संग्रहमा छन्द (लय) का आधारमा हेर्दा एउटा शास्त्रिय बहर, केही सवाई छन्दहरु र अधिकतम् स्रष्टानिर्मित परम्परित तर नियमबद्ध लयको सचेत प्रयोग र केही स्वतन्त्र वा मुक्तलयको प्रयोग भएका गजलहरु छन् । 
यो समिक्षा भन्दा पनि संग्रहमा देखिएका केही मूल प्रवृतीहरु (संरचनात्मक र विषयगत) माथीको पाठकिय दृष्टीकोण हो भन्ने बुझिदिनुहुन पाठक वर्गहरुमा अनुरोध गर्दै केही प्रवृतीहरुभित्र प्रवेश गर्ने अनुमती चाहन्छु ।

काफिया विचलन ः

काफिया गजलको टाउको हो । टाउकोविहिन शरिरको कुनै महत्व हुँदैन । टाउको नहुने÷नरहने वित्तिकै शरिरको अस्तित्व स्वतः निस्तेज÷निस्प्राण बन्न पुग्छ । त्यसैले पनि प्रायःजसो विद्धानहरुले काफिया गजलको प्राण हो भन्ने गर्दछन् । यो संग्रहमा पनि ८÷९ वटा गजलहरुमा काफिया विचलन भएको देखिन्छ । (उसो त काफिया विचलन भएका रचनाहरुलाई गजल भन्न मिल्दैन ।) यद्यपी केहीमा प्राविधिक कारण केहीमा असावधानीका कारण काफिया विचलन भएको स्पष्ट बुझ्न सकिन्छ ।

रदिफ र काफियाले बेरी लेखेँ गजल ।
नमिलेका शेरहरु कोरी लेखेँ गजल ।
केशब भट्टराई ‘प्रकृती’ (पेज ४९)

हिजो जता बग्थ्यो आज बग्छ खोला उतैतिर ।
हिजोका झै तिनका कुरा गए होला उतैतिर ।
जता भट्टी उतैपट्टी, गयो सवको ध्यान अचेल
पण्डित बाजे साधु सन्त, बमबम भोले उतैतिर ।
रुद्र मिश्र (पेज ९४)

केही गर आफ्नो देशलाई अब हेर नेता ।
तिम्रो कालो मनलाई सेतोमा फेर नेता ।
देशको अरु को नै छ बचाउ भन्नलाई
देशको रक्षाको व्यवस्था गर यति धेरै नेता ।
तारा थापामगर (पेज ६७)

म त हजुर नेपालमै बस्नु छ ।
डाँडा–काँडा सजाउनलाई कम्मर कस्नु छ ।
न्याय दिन्छु स्वतन्त्रता दिन्छु भने नि
जनताको नया संविधान बनि घरघरमा पुग्नु छ ।
बन्द हड्ताल नगरौ अब हे सै नेपाली
दुश्मनले कति फाईदा लुटे त्यो पनि सोच्नु छ ।
रमेश राई (पेज ४१)

मुखमा रामराम बगलीमा छुरा हाल्ने निष्ठुरीले
पलपल रुवाएर छाडी यो मन ताल्ने निष्ठुरीले ।
सँगै मिली बाटो हिड्ने बटुवा र भरियालाई
शितल् छाया दिउला भन्थी वरै भुल्ने निष्ठुरीले ।
रशिक शर्मा निश्चल (पेज ४३)

सगरमाथा शोकले डुब्दा मेचीलाई दुख्नुपर्छ ।
अशान्तिको पर्दा च्याती शान्ति विगुल फुक्नुपर्छ ।
छैनन् खुशी नेपाल आमा मौलाउँदैछन् सामन्तिहरु
भावविह्वल महाकालीमा रगत बग्न सक्नुपर्छ ।
थलिन्द्र भुजेल उदय (पेज २०)

उल्लेखित शेरहरुमध्ये केशव को बेरी काफिया सँग कोरी आएको छ । रुद्र को खोला र होला को हमकाफियाको रुपमा भोले आएको छ । तारा थापाको हेर र फेर को हमकाफियाको रुपमा धेरै आएको छ । जो काफिया विचलन को दोष अन्तर्गत पर्दछन् । तर कोरीको ठाउँमा केरी, भोले को ठाउँमा भोला, र धेरैको ठाउँमा धेर राखिएको भए काफिया विचलन दोष आउने थिएन । यो अवस्था कि त प्राविधिक कारण, कि त सर्जक र सम्पादकहरुको सामान्य असावधानीका कारण आएको देखिन्छ । तर रमेश राईको कस्नु छ÷बस्नुछ सँग पुग्नु छ र सोच्नु छ, रशिक शर्माको हाल्ने÷ताल्ने सँग भुल्ने र थलिन्द्रको दुख्नु÷फुक्नुसँग सक्नु काफियाहरु मिलाएर पनि कुनै हालतमा मिलाउन नसकिने गरि विग्रिएका छन् । हुनत रशिक र थलिन्द्र का उपर्युक्त गजलका अन्य शेरहरुमा काफिया विचलन छैन र पनि एउटै गल्तिले यि रचनाहरु गजल नभएर फजल बन्न पुगेका छन् । रशिकको ताल्ने÷हाल्ने सँग हमकाफियाको रुपमा आएको भुल्ने लाई भाल्ने बनाउँदा गजलको गति के होला ? थलिन्द्रको र रमेशको पनि त्यही हालत छ । छोटो अध्ययन, हतारमा सृजना गर्नु, अनुप्रास योजनामा ध्यान नदिनु जस्ता कारणहरुले यस्ता गल्तिहरु हुने गर्दछन् । हुनत गजलका भाव पक्ष अब्बल दर्जाका छन् । तर काफियाविहिन गजल गजल मानिदैन र अर्कोतिर रमेशको गजलमा लयभंग दोष र रशिकको गजलमा अस्पष्टता र अपुर्ण दोष पनि देखिन्छ । साथै रमेश राइ (पेज ४१)को गजल नं.४,सन्तोष गैरेको (पेज नं.३० को गजल नं. ३ मा पनि काफिया विचलन दोष देखिन्छ । यो संग्रहको प्रधान कमजोरी हो र यसले संग्रहको वजन घटाएको छ ।

काफिया पुनरावृती ः

संग्रहभित्रका केही गजलहरुमा काफिया पुनरावृती भएको देखिन्छ । एउटै गजलमा एउटै काफिया दोहोरिनु हुन्न भन्ने मान्यता विपरित आएका केही शेरहरु ः

विन्ति अब नखेलिदेउ रगतको होली देशमा
मिलेर फुलाउँ शान्तिको फूल भोली देशमा ।
मेची पनि रातै देख्छु काली पनि रातै
माटो सबै रातै भयो रगतको होली देशमा
गणेश महतरा हिमाली (पेज ८)

आउनासाथ टुप्पी काटी जनै स्वाहा भयो ।
रामराम जप्दै मन्दिर कहाँ धाउनु प्रवासमा ।
सम्झिएर चाडबाड यहि बिरानो मुलुकमा
खुशियाली दशैं तिहार कहाँ धाउनु प्रवासमा ।
सन्तोस गैरे (पेज ३०)

सम्पतीको कहानी यहिदेखि सुरु भयो
तिम्ले जथाभावी अन्तै चहारे पछि ।
साधन पनि असाध्यै अनियन्त्रित बन्यो
बेचूँ झै लाग्छ जीवन सुखमा हारे पछि ।
थाकुहाङ्ग मेरिङ्ग (पेज ११४)

उल्लिखित शेरहरुमध्ये गणेशको मतलामा होली÷भोली काफिया र अर्को शेरमा पनि हमकाफियाको रुपमा मतलाको उलामा प्रयुुक्त होली शब्दकै पुनरावृती भएको छ । सन्तोसका शेरहरु गजलका तेस्रो र पाँचौ शेरहरु हुन् । जहाँ धाउनु शब्द काफियाको रुपमा दुईपल्ट आएको छ । किनकी यो गजलको मतलामा पाउनु÷लाउनु दोस्रो शेरमा गाउँनु र चौथो शेरमा छाउनु काफियाहरु राखिएका छन् । यता मेरिङ्गको गजलमा पनि हारेँ काफियाको पुनरावृती भएको छ । दोस्रो शेरकोेका चहारेको (च) बर्णलाई स्वतन्त्र छोडेर हारे लाई काफिया मानिएको छ भने चौथो शेरमा पनि हारे बर्णगुच्छ नै काफियाका रुपमा आएको छ । यद्यपी यि दुवै शेरले अलग अलग विषय उप्काएका छन् । तर विषय फरक हुँदाहुँदै पनि शब्द वा वर्ण हुबहु उही हुँदा काफिया पुनरावृती भएकै ठहरिन्छ । मेरिङ्गका गजलका अन्य शेरहरुमा तारे, मारे, सारे र गणेशको गजलमा गोली, खोली, बोली जस्ता काफियाहरु आएकाले पनि बरु यि पुनरावृती भएका शेरहरु नै नराखेको भए काफिया पुनरावृती दोष आउने थिएन । सामान्य असावधानी का कारण यि दोषहरु आएका देखिन्छन् । यिनका अतिरिक्त,सन्तोस सागरको पृष्ठ नं. ३० को गजल नं. २ को मतला र मक्तामा रात र सन्तोस कै पृष्ठ १३१ को गजल नं. ५ को पनि मतला र मक्ता मै जाल काफियाको पुनरावृती भएको देखिन्छ । यो संग्रहको अर्को कमजोरी हो ।

काफिया रखाई नमिलेका शेरहरु ः

नेपाली भाषाको शब्दभण्डार अत्यन्त साँघुरो छ । यसै कारणले गर्दा बेलाबेलामा हामीले अन्य भाषाका शब्दहरुको सहारा लिनुपर्ने अवस्था पनि सृजना भईरहन्छ । गजलमा काफिया अनिवार्य तत्व भएकाले, अनुप्रास वा तुकबन्दि अलिकती पनि खच्पचिनु हुँदैन भन्ने मान्यता छ । यसकारण गजलकारहरु कहिलेकाँही कि त अन्य भाषाका शब्दहरुको सहारा लिन्छन् कि शब्दलाई अपभ्रंस गरेर काफियानुकुल बनाउने प्रयास गर्दछन् । संग्रहमा यिनै र यस्तै कारणहरुले गर्दा जबरजस्ती काफिया राखिएका गजलहरु पनि समाविष्ट छन् , हेरौ ः
आजभोली दन्द्ध झनै सल्किदैछ ।
नेताहरु कुर्सिमा नै पल्किदैछ ।
राजेश प्रवाह (पेज १६)
उल्लिखित गजलमा नेताहरु आईसकेपछि पल्किदैछ को ठाउँमा पल्किदैछन् हुनुपर्ने थियो । तर यसो गर्दा काफिया विचलन हुने भएकाले सर्जकले पल्किदैछन् वर्णगुच्छलाई जबरजस्त रुपमा पल्किदैछ बनाएका छन्। यसर्थ यहाँ बचनदोष देखिन्छ । त्यसैगरि ः
देशको चिनो प्रमाणपत्र च्याती फाले सबैजना
कमाई केही जीवन जिउने चास हजुर प्रवासको ।
रशिक शर्मा “निश्चल ”(पेज ४३)
यहाँ पनि बास, दास, पास, आस,जस्ता काफियाको हमकाफियाको रुपमा चासो बर्णगुच्छलाई जबरजस्त चास बनाईएको छ । उसो त पास काफिया पनि दोषमुक्त छैन । साथै मिसरा ए उला र सानी वीचको अन्योन्याश्रीत सम्बन्ध पनि खच्पचिएको अवस्था छ । र शेर पनि पूर्णतया अभिधात्मक छ । त्यस्तै ः
तिम्रो यादमा कैयौ पल्ट मरेँ म त ।
तुफान विचको फूल जस्तै झरेँ म त ।

सँगै बाँच्ने मर्ने कसम अधुरो भो
आफ्नै जिन्दगीसँग हरेँ म त ।

जानु नै छ भन्दै आफै मलामी भै
सबयात्रा गर्दै टिलो छरेँ म त ।

दागबत्ती चाहिँन्दैन, कुहिएरै झरोस्
आशा मारी आत्महत्या गरेँ म त ।
रिना बम्जन (पेज ९७)
यद्यपी गजलको मतलाखण्ड शसक्त र दोषविहिन छ । तर दोस्रो शेरमा प्रयुक्त हरेँ शब्द मतलामा प्रयुक्त मरँे÷झरेँ काफियाको हमकाफियाका रुपमा आएको हो । शेर पढ्ने वित्तिकै साधारण पाठकले नै पनि हारेँ शब्दलाई काफिया मिलाउन कै निमित्त हरेँ पारिएको रहेछ भन्ने सहजै अनुमान लगाउन सकिने स्थिती छ यहाँ । तेस्रो शेरको छरेँ र चौथो शेरको गरेँ पनि काफिया र रदिफ मिलाउनकै निम्ति जबरजस्त राखिएका छन् । यहाँ छरेँ मैले र गरेँ मैले बनाउदा भाषिक शुद्धता हुन्छ तर यसो गर्दा गजल गजलबाटै च्यूत हुने डरले सर्जकले चलाखी गर्न खोजे पनि गल्ति लुकाउन सकेका छैनन् । त्यसैगरि पुरण कटुन्जेली राई प्रेमी पेज ९७, अशोक कुमार राई प्यासी पेज नं. २७, दिलिप राई सगर पेज न. ८५ को गजल नं. २, सगर कै अर्को गजल पेज नं. ८५ को मतलामा संसार÷अंसार र अन्यमा क्रमशः भण्डार झंकार, संस्कार आएकोले आंशिक काफिया रखाई मिलेको छैन । यता केशव भट्टराई पेज ५०, मचिन्द्र तुम्बापो पेज ६५, कुमार बुढाथोकी पेज ७९, एस.डि आचार्य शंकर पेज ८२, फेरि दिलिप राई सगर पेज ८६, रमेश घिमिरे पेज १०९, थाकुहाङ्ग मेरिङ्ग पेज ११५, यूवराज जेठा पेज ११८, लक्ष्मिहाङ्ग चेम्जोङ्ग पेज १२२, राज सहयात्री पेज १२८ लगायत का केही गजलहरुमा कतै आंशिक काफिया रखाई, कतै पुर्ण काफियाको प्रयोग, कतै रदिफ काफियाको उचित संयोजन मिलेको देखिदैन । तर
म मर्दा मेरो लागी रोईदिने को होला
रोईरोई आफ्नो सिउँदो धोईदिने को होला ।
अशोक कुमार “प्यासी” पेज (२६,)

भुल्नुपर्ने जिन्दगीका पाटा कतिकति
हिड्नुपर्ने जिन्दगीका बाटा कतिकति ।
जीतमान राई “सविन” (पेज २,)

जस्ता गजलहरुले भने संग्रहको वजन खस्कन दिएका छैनन. ।

अपूर्णता ः

गजलका शेरहरु आफैमा स्वायत्त र पूर्ण हुनुपर्दछ । एउटा शेरले उठाएको कुरालाई लम्ब्याउँदै अन्य शेरमा लगेर मात्रै पुष्टी गर्नु गजलको धर्म होईन । यसो गर्दा गजलको शक्ति क्षिण हुन्छ ।
मान्छे नै हूँ मानवको नाम देउ भन्दा ।
मलाई पनि बाँच्ने सानो ठाम देउ भन्दा

कति गाली पाएँ मैले कति मुक्काहरु
बगाएको पसिनाको दाम देउ भन्दा ।
अर्जुन “उजाड” घिमिरे (पेज १०६),

शून्यताको क्षितिजमा हराएर अनायसै
निदरीमा आमा भन्दै कराएर अनायसै
राज सहयात्री (पेज १२६,
)
पलाएन आशाहरु झरीसकेपछि
मझेरीमा मनको बत्ति मरिसकेपछि ।
जनक शाही “जिवन्त” (पेज १३४),

माथि उल्लिखित अर्जुनको गजलको मतला , अपूर्ण छ । मानवको नाम देउ भन्दा र बाँच्ने सानो ठाम देउ भन्दा के भयो त ? प्रस्ट खुलेको छैन । बरु अर्को शेरमा पसिनाको मूल्य माग्दा गाली र मुक्का खानु पर्दाका सन्दर्भहरु उठाएर गजलको भावलाई तन्काएको छ । हुनत मतलाको उला कौतुहुल पुर्ण छ तर सानीमा समापिका क्रियाको अभाव छ र दोस्रो शेरको मिसरा ए सानीमा पुग्दा मात्र गजलकारले भन्न खोजेको कुरा स्पष्ट बुझ्न सकिन्छ । यसर्थ यो गजलको मतलाखण्ड पुर्णतः अपुर्ण छ । त्यसैगरि राजको मतलामा पनि अपुर्णता दोष भेटिन्छ । यहाँ पनि मतलाकोस उला, “शून्यताको क्षितिजमा हराएर अनायसै’’ कौतुहुलपुर्ण छ । तर सानीले त्यो कौतुहुलतालाई उचित समापन गर्न सकेको छैन उल्टो निदरीमा आमा भन्दै कराएर अनायसै भन्दै अर्को प्रश्न खडा गरि अन्योलता सृजना गरेको छ। यता जनकको गजलमा पनि यहि समस्याले झेलेको छ । पलाएन आशाहरु झरीसकेपछि र मझेरीमा मनको बत्ति मरिसकेपछि के भयो ? स्पष्ट छैन । यसर्थ यहाँ कर्ता र समापिका क्रिया छैन । र शेर अपुर्ण र अस्पष्ट बन्न पुगेको छ । यहि दोष गणेश हिमाली महतरा पेज ९, कृष्ण आलोक पेज १८, र अरविन तुलाचन विस्फोट पेज १३६ मा पनि देखिन्छ । तर अधिकांस गजलमा भने यो दोष सितिमिति नभेटिनु संग्रहको उपलब्धि नै मान्नुपर्छ । हेरौ केही राम्रा शेरहरु ः
औसीको त्यो रात सरी भएको त्यो अन्धकारलाई
हटाईदिने तिम्रो माया पूर्णिमाको जून हो की ?
थलिन्द्र बहादुर भुजेल “उदय”( पेज २२

हर्ष र उमंगको बेला पनि
आँखाभरी आँशु थियो नभन ।
सन्तोस गैरे (पेज २९)
,
विविध दोषहरु ः

संग्रहमा व्याकरणिय दोषहरु पनि देखिन्छन् । कतै बचन दोष कतै अन्योन्याश्रीत दोष त कतै सम्बन्धबाचक असम्बद्धता दोष हरुले संग्रह केही कमजोर बनेको छ ।
चाहिँदैन अब मलाई हिरामोती हारहरु
दिने भए उपहारमा स्विकार गर्छु कफन कान्छी ।
जीतमान राई “सविन”( पेज २)
निरंकुश लाद्न खोज्ने दरवारका कुरा के गरुँ ?
कुर्शि मोहमा ठिक्क हुने सरकारका कुरा के गरुँ ?
दीप दर्शन (पेज ६ )
रगत र पसिनाको, धारो बगाई परदेशमा
बडेमानको पहाड पनि खन्छन् किन परदेशमा ।
गणेश “हमाली” महतरा (पेज ९,)
कयौ युग वितिसक्यो, देशको व्यथा उस्तै छ ।
अव देशलाई प्रगतीतिर मोड्न पाए हुन्थ्यो ।
झुनसिंह कुँबर ,(पेज २५,)
छट्पटिन्छ मनहरु साँझ एकान्तमा
साथी भाई अनि गाउँघरको यादले डस्दा ।
रमेश रोदित लामा (पेज ३३,)
बर्षौ पछि आज उनको यादहरु याद आयो
बगैंचामा चुमेका ति हातहरु याद आयो ।
अरविन तुलाचन “विस्फोट”( पेज १३६)
उल्लिखित गजलमध्ये जितमानको गजलमा हिरामोती हारहरु सँग चाँहिदैन बर्णगुच्छ अमिल्दो छ र बचनदोष उत्पन्न भएको छ । त्यसैले “चाँहिदैन अब मलाई हिरामोती हारहरु” को सट्टा “चाँहिदैनन् अब मलाई हिरामोती हारहरु” हुनुपथ्र्यो । दीप दर्शनको प्रयुक्त निरंकुश शब्दलाई “निरंकुशता” बनाउनुपर्ने देखिन्छ भने गणेशको शेरको उलामा पसिनाको धारोलाई “पसिनाका धारा” बनाउनुपर्ने देखिन्छ । यता झुनसिंहको उलामा “कैयौ युग वितिसक्यो देशको व्यथा उस्तै छ” लाई “कैयौ युग वितिसके देशको व्यथा उस्तै छ” बनाउँदा मात्र दोषमुक्त हुने अवस्था छ । त्यसैगरि रमेशको शेरमा प्रयुक्त छट्पटिन्छ मनहरु लाई पनि “छट्पटिन्छन् मनहरु वा छट्पटिन्छ मन मेरो” बनाउँनु पर्ने देखिन्छ । विस्फोटको गजलमा पनि यहि समस्या छ ।

बर्षौ पछि आज उनको यादहरु याद आयो
बगैँचामा चुमेका ति हाँतहरु याद आयो ।
लाई यसो गर्दा मात्र उत्कृष्ट र दोषरहित शेर बन्दछ ।

बर्षौ पछि आज उनका यादहरु याद आए।
बगैँचामा चुमेका ति हातहरु याद आए ।

यसैगरि रमेश राई पेज ४० को दोस्रो गजलको मतलामा, अल्पकालिन थमन श्रीस पेज ४६ को दोस्रो गजलको दोस्रो शेरमा, हिरा विवश “स्वप्नील” पेज ७६ को गजल नं. २ को दोस्रो र चौथो शेरमा पनि यस्तै दोषहरु देखिन्छन् । अझै हेरौः
तिम्रो बारे केही कुरा जान्न किन हुन्न हजुर
कसैका यि छड्के कुरा हान्न किन हुन्न हजुर ।

तिमीलाई त्यस्तो हुन्न भने किन आउँछ्यौ सपनीमा
हजारौमा मैले तिम्लाई छान्न किन हुन्न हजुर ।

चाहना हो मेरो केवल जवानीको दोष होईन
भिडमा तिम्रो हात समाई तान्न किन हुन्न हजुर ।
एस.डि. आचार्य “शंकर” (पेज ८३,)
माथिका अन्य गजलहरु “विषयबाचक, कालबाचक र कुरुपता” नामक दोषबाट ग्रस्त देखिन्छन् भने एस.डि. को गजल “सम्बन्धबाचक असम्बद्धता” नामक दोषबाट ग्रसित देखिन्छ । एउटै शेरमा तिमी÷तिम्रो जस्ता सामान्य आदरार्थी सर्वनाम सँग अत्युच्च आदरार्थी सर्वनाम हजुरको असान्दर्भिक प्रयोगले गर्दा एस.डि. को गजल नराम्रो सँग बिग्रिएको छ । यद्यपीः
जिन्दगी आफैभित्र दुखेको छ आज
प्रियसीको यादमा ज्यान सुकेको छ आज ।
हिरा विवस “स्वप्नील” (पेज, ७७)
धेरै भयो तिम्रोे यादमा हराउँन छाडीसकेँ
सपनीमा झस्किएर कराउँन छाडीसकेँ ।
कुमार बुढाथोकी “आयुस” (पेज, ७९)
टापुमाथी बाँचेको जिन्दगी भन्थ्यो ऊ
पैतालाको वरीपरि पानी नै पानी छ ।
जीतमान राई “सविन”( पेज, ३)
जस्ता शेरहरुले भने संग्रहलाई उजिल्याएका छन् ।

लयभङ्ग ः

गजल गेयात्मक विधा भएकोले पनि गेयात्मक हुनु अत्यन्त जरुरी छ । लयले गजलको आयूलाई पोषण गर्दछ । गजल लयात्मक बन्नका लागि यति,गति र मात्रात्मक एकरुपतामा मात्र ध्यान दिएर पुग्दैन । सरल र सरस शब्द चयनमा पनि उत्तिकै ध्यान दिनुपर्दछ । सिर्जनाका स्वरहरुमा काफिया विचलन पछिको अर्को प्रधान दोषमा लयभङ्ग दोषलाई लिन सकिने साक्ष्यहरु धेरै छन् । यहाँ केही गजलहरु लयात्मक ज्ञानको अभाव, केही भावमा मात्र ध्यान दिनाले र केही गजलहरु सामान्य लापरवाही र असावधानीका कारण लयात्मक बन्न सकेका छैनन् ।
घाँटी हेरी÷ हाड निल्ने ÷उस्को बानी छ । –१३ अक्षर
सिमित घे÷राभित्र बा÷ँच्नुपर्ने जिन्दगानी छ । –१६ अक्षर
जीतमान राई “सविन”(पेज, ३(
यो शेरमा एउटा पक्तिमा १३ र अर्को पक्तिमा १६ बर्णहरु आएका छन् । शेरमा अल्पविश्राम भंङ्गलाई क्षमा दिन सकिन्छ तर मध्यविश्राम भंङ्गलाई दोषरहित मान्न सकिदैन । यहाँ बर्णहरु मात्र अल्पाधिक भएनन् कि विश्राम पनि पुर्णतया भङ्ग भएकाले लयभङ्ग दोष स्पष्टसँग देख्न सकिन्छ । यसैगरि
टाढा हुन÷ खोजेपनि÷ तिमीलाई नै÷ डाकिरा’छु म
सल्कायौ म÷नमा आगो÷ भित्र भित्रै÷ पाकिरा’छु म ।
नरेन वि. मगर (पेज १२)
यो गजलमा मात्रागत एकरुपता त छ, तर म बर्ण अनावश्यक रुपमा आएकाले अनावश्यकता नामक दोष भने देखिएको छ । बरु सर्जकले म वर्ण नै नराखि दिएको भए गजल सुन्दर बन्ने थियो । यति हुँदाहुँदै पनि संग्रहमा लयात्मक छटाद्धारा मञ्जुल ध्वनी गुञ्जयमान गर्न सक्ने शेरहरु हुँदै नभएका भने होईनन् । हेरौ ः
सुन्दर तिम्रो मुहार भित्र कालो रै’छ मन कान्छी ।
धोका दियौ किन मलाई सत्य के हो भन कान्छी ?
जीतमान राई “सविन”( पेज, २)
अधेँरी रातमा जून हौ तिमी ।
धर्तिमा अमूल्य सून हौ तिमी ।
नरेन वि. मगर (पेज, १३)
सोध्यो भने खैजडु र मादलुले पनि
सम्झनाको तरेलीमा नाचेकै छ भन ।
अर्जुन “उजाड” घिमिरे (पेज ,१०६)

नेतृत्वप्रति असन्तुष्टी ः

लाचार र दम्भि नेतृत्वपक्तिकै कारण देशले आज दुर्भाग्य भोगिरहेको कुरा संग्रहले छर्लङ्ग बोलेको छ । धनि झन्झन् धनि र गरिब झन् झन् गरिब बन्दै गईरहेको वर्तमान अवस्थामा, नेताहरुका व्यक्तिगत स्वार्थ, सत्तालिप्सा, पदलोलुपता र जसरी हुन्छ कमाउँ भन्ने नीतिका शिकार पनि जनता नै भईरहेको कुरा संग्रहभित्र अभिगुञ्जित भएको छ एकातिर भने, अर्कोतिर व्यक्तिगत र दलगत स्वार्थ पुर्तिकै निम्ति आफ्नै राष्ट्र बेच्न सम्म पनि पछि नपर्ने कुमानव प्रवृतीबाट राष्ट्र र राष्ट्रियता धरापमा परिरहेको विम्ब पनि ठाउँठाउँमा पाईन्छ । त्यसैले पनि हुनुपर्छ, सजर्कहरु कतै–कतै आक्रामक पनि देखिन्छन् संग्रहभित्र ः
खबरदार सभासद्लाई गाउँमा आउने बाटो छैन ।
एस.डि आचार्य “शंकर ”(पेज, ८२)
नेता ज्यू तिमीले जित्नु र हार्नु उस्तै उस्तै
आकाशको तारा धर्तिमा झार्नु उस्तै उस्तै ।
अल्पकालिन श्रीस थमन (पेज, ४६)
भोकै छन् जनता गाँस दे ए नेता
महल हैन झुपडीको बास दे ए नेता ।
यूवराज साम्पाङ्ग “जेठा”( पेज ,११९)

घुसखोरी ः

भ्रष्टचार र घुसखोरीले देश थला परेको छ । सत्ताको बागडोर सम्हाल्नेहरु, सरकारी कर्मचारीहरु, ठेकेदारहरु, इन्जिनियर, डक्टर, एन.जि.ओ.– आई. एन. जि.ओ. जसको पनि यो (भ्रष्टचार ) पेसाजस्तै बनेको छ। तर सिर्जनाका स्वरहरुमार्फत प्रवासी गजलकारहरु यसो भन्छन् ।
विभिन्न बहानामा सोझासोझा जनताबाट
असुल्ने त्यो घुसको रास त्यागी आउ विकास गरौ ।
दीप दर्शन (पेज, ७)

बेरोजगार÷श्रम ः

देशमा रोजगारका कुनै पनि अवसरहरु नहुँदा आम यूवाहरु प्रवासमा कडा श्रम गर्न बाध्य छन् । आफ्नै पैसामा बेचिएर राष्ट्रको अर्थतन्त्र धानिरहेका यिनै यूवाहरुले प्रत्यक्ष आफ्ना भोगाईहरु बगाएका छन् कलमबाट ।
नोकरीको खोजीमा नै च्यातिएछ कोट हजुर।
नरेन वि मगर (पेज १२ )
बेचैन भो श्रम गरि खाँदा पनि
काँप्छ यो निर्दोश हात त्यसै त्यसै ।
अप्पकालिन श्रीस थमन (पेज ४६ )
फर्कि आउँदैछु आमा भनेजस्तो काम छैन ।
मोति शरि बहुमुल्य पसिनाको दाम छैन ।
राज “सहयात्री” सुब्बा (पेज १२८)

प्रवासी पिडा ः

देशको अस्थिर राजनीतिका कारण बेरोजगारीले चुली चुमेको र त्यसको चपेटामा हरेक नागरिकहरु परेको जगजाहेरै छ । घरबास मा केही गर्न नसक्ने अवस्था सृजना भएपछि बाध्यताबस प्रवासीन पुगेका ३५ प्रतिसत नागरिकहरु प्रवासमा पाईने विविध यातनाहरुबाट प्रताडित हुँदाको दुःख शब्दमा व्यक्त गर्न सकिँदैन । हर्के दाईको हात काटिएको कथा, रामकृष्णको सुतेको सुत्यै मृत्यु, कुवेतको जेलमा डोल्माको कहानी, इराकमा १२ जनाको नरसंहार, मलेसियामा .......... बोहराको दुर्घटना, साउदीमा सुन्तली बलात्कृत भएका व्यथाहरु त प्रतिनिधी घटनाहरु मात्र हुन् । पसिनाले निथु्रक्क भिजेको तिम्तिमाईलो भोटो टक्टक्याउँदै, मालिकहरुका हप्कीदप्की र यातना सहँदै कल्पनाको आकारमा उडेर हैन सत्यताको धरातलमा उभिएर अभिव्यक्त भएका प्रवासी पीडा र रोदनले भरिपुर्ण यहाका गजलहरु वास्तवमै जिवन्त बनेका छन्।
किन आयौ परदेशमा दुःख पाएँ भन्न चेली ।
कुवेतको जेलमा झै अर्कि डोल्मा बन्न चेली ।
अल्पकालिन श्रीस थमन (पेज ४५,)
विदेशमा नेपालीको मोल छैन हजुर
चिसिएको मुटु सेक्ने गोल छैन हजुर
टंक चन्द (पेज ५२)
हातगोडा काँप्छन् प्यारी मालिक आई थर्काउँदा
नभन्नु बाआमालाई धेरै कुरा ढाँटेको छु ।
एस.डि आचार्य “शंकर” (पेज ८२)
सम्झनाको सिरेटो छातीभित्र पस्दा
ठिहिन्छ मन् त्यसैत्यसै परदेश बस्दा ।
रमेश रोदित लामा (पेज, ३३)

चाडपर्व ः
संस्कृतीको साईनो मुटुसँग गाँसिएको हुन्छ । मुटु भन्नु नै जिन्दगी हो र जिन्दगी भन्नु नै मुुटु हो एक अर्थमा । यसर्थ पनि मान्छेको जिन्दगीबाट उसको संस्कृती निकालीदिने हो भने ऊ खोक्रो र बोक्रो बन्न पुग्दछ । प्रवासी भूमिमा पसिनाको मूल्य खोजिरहेका प्रवासी सर्जकहरु आक्देल हुँदै आफ्नो भाषा संस्कृतीलाई विविध कोण प्रतिकोणबाट सम्झन्छन् र मुटुभरी सजाउँछन् यसरी ।
दशैं आउँछ तिहार आउँछ अनि तिज पनि
माईत जाँदा एक्लो हुँदा मान्छिन् होली विरानो ।
राजेस प्रवास (पेज, १४)
चाडपर्व रितिरिवाज धेरै बर्ष बाँझै रहे
फर्कि आई गाउँघरमा नयाँ साईनो जोडीदेउन ।
शिसम भेषराज नेपाल टु मच (पेज ८८)
कल्पनाको डाली रै’छौ लुङ्गा तरेमे ।
बोलाउँबोलाउँ लाग्यो नि हौ लुङ्गा तरेमे ।
पदमदुःखी सम्बाहाम्फे (पेज, १०३)
उस्तै छन् कि बद्लीसके गाउँबेसी पाखाहरु
रोदीघर र पिरतीका मीठामीठा भाकाहरु ।
सन्तोस सागर (पेज, १२९)

राष्ट्रियता ः
संग्रहभित्रका गजलकारहरु आफ्नो मुुटुभन्दा प्यारो माटो भन्दा धेरै टाढा प्रवासमा छन् यतिखेर । त्यसै पनि सर्जकहरु माटोप्रेमी हुन्छन् झन् त्यही माटोबाट टाढा रहँदा लाग्ने अत्यासले उनिहरुलाई अझ बढी चिथोर्ने गर्दछ । पलपल र निमेषनिमेषमा माटोकै कल्पनामा, मुटुभरी माटोकै गीत सजाउँदै संग्रहभित्रका अधिकांस गजलकारहरु देशप्रेममा भक्कानिएका छन् । संग्रहभित्र डुब्दै जाँदा लाग्छ कि यो संग्रह सच्चा राष्ट्रभक्तहरुको हृदयको गुञ्जन हो । संग्रहभित्रका प्रायःजसो गजलमा राष्ट्रभक्ति अभिगुञ्जीत भएकाले मात्र होईन,स्वयम् गजलकारहरु राष्ट्रप्रतिको आदरभावले नतमस्तक र राष्ट्रियताप्रतिको चिन्ताले भावविभोर भएकाले पनि यसो भन्न बल पु¥याउँछ ।
जुन देशमा जन्मे त्यही देशमा बाँच्नुपरोस् ।
मर्नु परे देशका लागी हाँसी हाँसी मर्न पाउँ ।
झुनसिंह कुँवर (पेज ,२५)
मातमा हिमाल पदमा चिमाल फुल्नुपर्छ मेरो देशमा
डाँफे मुनाल मयुर नाच्दै खुल्नुपर्छ मेरो देशमा ।
विष्णु सापकोटो “शिशिर” (पेज, ६०)
आफ्नै मुटुभन्दा प्यारो देश लाग्छ मलाई
स्वर्गभन्दा यहि माटो बेश लाग्छ मलाई ।
टुकेन्द्र पौरखी (पेज, ७१)
यो पहाड यो तराई यो हिमाल हो हाम्रै ।
यो संघिय गणतन्त्र नयाँ नेपाल हो हाम्रै ।
दिलिप राई “सगर ” (पेज, ८४)
दिनरातको सम्झना देशलाई
दिँदैछु मेरो सिर्जना देशलार्ई ।
रुद्र मिश्र (पेज ,९३)

सिमाना ः
टिष्टा र काँगडा एकादेशको कथा बनेको छ । हाम्रो सरकारको लाचारीका कारण सुस्ता र कालापानीमा पनि हात धुँदैछौ हामी । जंगे पिल्लर रोईरहेका छन्, हाम्रो चुलोमा पराईको भात पाक्दैछ, गोठमा पराईका गाईवस्तु सारिदैछन्, आँगनमा पराईले अड्डा जमाउँदैछ र हामी हाम्रै घरभित्र विराना बन्दैछौ । यहि अवस्था रहिरह्यो भने कुनै दिन नेपाल पनि एकादेशको कथा बन्न के बेर ? यस्तै यस्तै भाव र सत्यताको खोजि गरिरहेका गजलले संग्रहलाई उच्च तुल्याएका छन् । बुद्ध भारत र सगरमाथा चिनको हो भन्ने हल्लाले हाम्रो राष्ट्रियतामा ठाडो हस्तक्षेप भएको धारणा होस् वा कालापत्थर मा गएर सल्किने नेपाली मन होस्, संग्रह सिमासमस्याको समाधान खोजिनुपर्छ भन्दै चन्द्रसूर्य अंकित झण्डा बोकेर आन्दोलनमा होमिएको छ ।
सगरमाथा चिनको भयो, बुद्ध जन्मे भारतमा
थियो यात्रा गन्तव्यहिन बाटो मिचिएछ ।
केशव भट्टराई “प्रकृतीप्रेमी” (पेज ,४९)
भारतले लुटीरा’छ सिमानाका भुभागहरु
सन्तोस गैरे (पेज, ३१)
लेकाली पवन सैलुङ्ग सुसेली भञ्ज्याङ्गमा रमाउने
दशगजा अनि कालापत्थर मा गएर सल्किन्छ मन् ।
रमेश रोदित लामा (पेज, ३२)

निरासा÷छटपटी÷वियोगः
मान्छेले जिन्दगीमा असंख्य सपनाहरु संगालेको हुन्छ। भलै कसैका ठूला कसैका साना होलान्, जसका जे जस्ता सपना भए पनि सपना साच्चिकै स्वर्णिम हुन्छन् किन्तु जब मान्छे त्यो स्वर्णिम स्वप्नलोक बाट झल्यास्स ब्युझन्छ विपना उसको ठिक विपरार्थी धुब्रबाट गिज्याई रहेको हुन्छ र ऊ, निरास वन्न पुग्छ । सिर्जनाका स्वरहरुमा पनि विविध प्रकारका सपनाबाट टुक्रिएका मनहरु छन् । त्यसमा पनि आफ्नै मनबाट टाढिनु÷छुट्टिनु पर्दाका व्यथाहरु मज्जैले पोखिएका छन् ।
जिन्दगी छ एक्लोपनमा मिलन खोजँु कतातिर ।
लाग्छ मनमा विछोड हैन मिलनकै छाप होला ।
राजेश प्रवाह (पेज, १५)
बाँचुन्जेल नभेट्ने कसम खाई गयौ तिमी
मेरो लास चितामा चढेपछि डोली चढ्नु ।
कुमार बुढाथोकी “आयूस” (पेज, ७९)
सधै हिड्ने गोरेटोमा ठेस लागी लड्दा रोएँ
बिछोडले भरिएको पत्र उनको पढ्दा रोएँ ।
अरविन तुलाचन “विस्फोट” (पेज ,१३५)
आशा गर्दा निराशा यो भागमा परेछ ।
साथै होला भन्थे मन बसाँई सरेछ ।
रमेश घिमिरे (पेज, १०८)
सुरा ः
संग्रह कतैकतै नसामा झुम्मिएको छ । गजलको स्थापनाकालदेखि नै प्रसय पाउँदै आईरहेको सुरालाई संग्रहभित्रका गजलकारहरुले मन भुलाउनकै निम्ति भएपनि छचल्काएकै छन् गिलासभरी । यसरी गिलासभरी छचल्किएका प्यालाहरुसँगै लठ्ठिएका केहि शेरहरुले संग्रहलाई नै लठ्याउन सक्ने सामथ्र्य बोकेका छन् ।
पीडा अन्तरालमा बढ्दा निदाउन कहाँ सक्छु ।
प्याला पोखेर पेटमा पिर घटाएँ कति कति ।
टुकेन्द्र पौरखी (पेज ,७१)
हरसाँझ पिउ लाग्छ अलिकति नशा
खाएपछि मात नखाएकै राम्रो ।
अर्जुन “उजाड ”घिमिरे (पेज, १०५)

आशक्ती ः
श्रृगार रससँग गजलको मष्तिस्क नै जोडिएको छ अद्यपर्यन्त पनि । जुनसुकै भाषाका गजलहरुमा पनि यो महत्वपूर्ण पाटोका रुपमा जिवन्त नै छ । हुनत आजको गजल जीवन र जगतका हरेक सन्दर्भहरु बक्त्याउँछ र पनि यसले श्रृगारलाई चाहेर पनि लत्याउन सक्दैन । यहाँ पनि यस्तै भएको छ ।
एकान्तमा मीठो धुन बनि आयौ ।
अधेँरीमा तिमी जून बनि आयौ ।
रमेश रोदित लामा (पेज ,३३)
द्धार खोल तिम्रो मनको आउँन म सकुँ
मेरोजस्तो चोखो माया लाउन म सकुँ ।
मौलश्री लिम्बु (पेज, ७२)
भावनामा डुल्ने मनलाई डुल्न देउ न विन्ति ।
तिमीसँग खुल्ने मनलाई खुल्न देउन विन्ति ।
दिपेन्द्र शर्मा “दीप” (पेज, १००)
मुसुमुसु हाँसीदिँदा पूर्णिमाको जून लाग्यो
समिपमा आईबोल्दा सितारको धुन लाग्यो ।
राज सहयात्री सुब्बा (पेज, १२८)

अश्लिाशक्ती ः
श्रृगारिकताका नाममा यौनाङ्गको नांगो बर्णन र तत्सम्बन्धि क्रियाकलापको व्याख्या गर्नु गजल त के साहित्यका कुनैपनि विधामा सुहाउँदैन । तर यहाँ रात काट्ने कुराहरु, ओछ्यान तताउने कुराहरु, गाला चाट्ने कुराहरु गजलको नियम विपरित आएका छन् । जो गजलको धर्म होईन । हो साहित्यले हरेक कुरा बोल्नुपर्छ, यसको अर्थ बीच बजारमा निर्वस्त्र भएर हिड्नुपर्छ भन्ने त होईन नि ? कम्तिमा समाजले पचाउन सक्ने बर्णगुच्छहरुको गठजोडमा सर्जक सचेत हुनै पर्छ । आफ्नी प्रेमिकालाई आफ्नो प्राणभन्दा बढी माया गर्ने र प्रेमिकाका हरेक चिजहरु आफूलाई मनपर्ने जस्ता अभिव्यक्ती दिँदा, प्रेमिकाको सिँगान÷थुक पनि आफूलाई मनपर्ने र प्रेमले गर्दा चाट्ने गरेको जस्ता कुराहरु पनि श्रृगारिकता भित्र पर्लान् र ? अझ यसो भनौ आफूले लेखेको गजल वा संग्रहहरु आफ्ना छोरीचेलीहरुबाट लुकाउँदै हिड्नुपर्ने खालका रचनाहरु नलेख्दा हुँदैन र ? यस्ता रचनाहरुले ताली त पाउलान् तर तालीसँगै स्वयम् सर्जक र गजल विधामाथि नै पनि प्रश्नचिन्ह खडा हुन्छ । हुनत हिजोको नजिर दिईएला किन्तु हिजो हाम्रा पुर्खाहरु