मनु ब्राजाकीका गजलमा छन्दयोजना


Ravi Pranjal
रवी प्रान्ज
– रवि प्राञ्जल
फारसीबाट उर्दु र हिन्दी हुंदै नेपाली भाषामा गजलले प्रवेश गरेको एक सय वर्ष पूरा भइसकेको छ । मोतीरामद्वारा उठान भएको नेपाली गजल चार दशक भन्दा लामो समयको मौनता पश्चात् चालिसको दशकको पूर्व सन्ध्याबाट पुन वाचाल हुंदै वर्तमानसम्म आइपुग्दा गजल बिधा अत्यन्त लोकप्रिय तथा सशक्त काब्य–बिधाका रुपमा नेपाली साहित्यमा प्रतिष्ठित भइसकेको छ ।

गजलको पुनर्जागरण कालपछि नेपाली साहित्यमा गजललाई स्वतन्त्र काब्य बिधाका रुपमा स्थापित गराउने प्रमुख स्रष्टाहरुमध्ये अग्र पंक्तिमा भेटिने स्रष्टा हुन्– मनु ब्राजाकी । नेपाली साहित्यमा विशिष्ट कथाकारका रुपमा समेत प्रशिध्द मनु ब्राजाकी गजल लेखनमा पनि त्यत्तिकै चर्चित एवं प्रख्यात गजलकारका रुपमा रहेका छन् । नेपाली गजल बिधामा उमेरका दृष्टिले प्रौढ एवं चिन्तनका दृष्टिले परिपक्व गजलकारका रुपमा परिचित गजलकार मनु ब्राजाकीका गजलहरुमा भाव पक्ष तथा रुप पक्ष दुबैको समुचित सन्तुलन भेटिन्छ । प्रेम,सामाजिक–राजनीतिक विसंगति,निराशावादी स्वर,क्रान्ति,प्रगतिशीललता,नागरीय त्रासदी, मौलिक चिन्तनप्रवृत्ति, व्यड्ग्य चेतना र विषयगत बिबिधता जस्ता बिबिध प्रवृत्तिहरुले मनु ब्राजाकीका गजलमा भाव पक्षको व्यापकता एवं सघनता प्रकट हुन्छ भने रदीफ–काफियाको प्रयोगमा सन्तुलन, हार्दिकता, छन्द योजना, इन्द्रिय–संवेद्य बिम्ब–प्रतीकको प्रयोग,अभिब्यक्ति कौशलता,उक्ति वैचित्रयता, तखल्लुसको प्रयोगमा अधिकता र स्वकीयता जस्ता नवीन तत्वहरुको प्रयोग एवं प्रवृत्तिहरुले गजलको रुपपक्ष प्रति उनी अत्यन्त सचेत एवं गम्भीर देखिन्छन् । मनु ब्राजाकीका गजलहरु यद्यपि चालिसको दशकको पूर्वसन्ध्याबाट मात्र पत्रपत्रिकाहरुमा प्रकाशित भएको पाइएता पनि उनले २०२२ सालदेखि नै गजल लेख्ने गरेको तथ्य प्रकाशमा आएको छ । उर्दु,हिन्दी र संस्कृत भाषाका समेत ज्ञाता मनु ब्राजाकीको हिन्दी भाषामा लेखिएको सुन्दर गजल समेत देखा परेको छ । व्यक्तिगत प्रचारप्रसारबाट सदैव टाढा रही गजल लेखनमा समर्पित मनु ब्राजाकीका गजलहरुबाट प्रेरित भई गजल लेखन आरम्भ गरेका कतिपय गजलकारहरु आज नेपाली गजल साहित्यमा चर्चित भइसकेका छन् । गजल लेखनका हिसाबले चार दशक समय बिताइसकेका गजलकार मनुका गजलकारितामा भेटिने समग्र प्रवृत्तिहरुको बिवेचना गर्ने हो भने एउटा सिङ्गो कृति नै तयार हुन सक्छ । जसमा मनुका गजलकारितामा भेटिने सबल पक्षसँगै उनका दुर्बल पक्षहरुको समेत विश्लेषण गर्नु पर्ने हुन्छ । यस छोटो आलेखमा यो सम्भव नभएको हुंदा मनुको उपर्युक्त प्रवृत्तिहरुमध्ये प्रमुख प्रवृत्ति ‘छन्द योजना’ लाई मात्र यहाँ संक्षिप्त रुपमा चर्चा गर्ने जमर्को गरिएको छ ।
मूलतः गजल एउटा यस्तो काब्य बिधा हो जो लय र संगीतको जगमा ठडिएको हुन्छ । काफिया बिहिन गजल सम्भव नभए जस्तै छन्द बिहिन गजलको पनि कल्पना गर्न सकिंदैन । गजलमा छन्दको महत्व बारे गजलकार मनु ब्राजाकी ‘गजलगङ्गा–२०५१’को भूमिकामा लेख्छन् –‘परम्परागत अरबी–फारसीका छन्दहरु नमान्ने भए नमान्नुस् तर स्वनिर्मित छन्द अन्तर्गत नै गजल निर्माण गर्नु छ भने पनि प्रथम शेर जति मात्रामा तयार पारिएको छ अन्तिम शेरसम्म उति नै मात्राको निर्वाह त गर्नै पर्छ । अन्यथा यस्ता विषम मात्रिक शेरहरु भएको गजललाई गायकले कसरी गाउने ? अतः यो कुरा ठोकुवासाथ भन्न सकिन्छ कुनै पनि गेयविधा(गजल होस् वा गीत,रुबाई होस् वा मुक्तक)छन्दको घेराबाट मुक्त हुन सक्दैन, हो बरु परम्परागत छन्ददेखि उम्किएला तर लयात्मकताका लागि कुनैनकुनैे स्वनिर्मित नै भए पनि छन्दमा बन्द हुनैपर्छ ।’ यसरी छन्दलाई गजल निर्माणको प्रथमिक शर्तमा रुपमा स्विकार गर्र्दै गजलको पुनर्जागरणकालसँगै नेपाली भाषामा स्वनिर्मित लय र मात्राछन्दमा बाँधिएर गजल लेख्ने परम्पराको शुरुवात गजलकार मनु ब्राजाकीले नै गरेका हुन् । मनु ब्राजाकी पछि मनुले हिँडेको बाटोमा मात्रा–छन्दलाई आधार मानेर ललिजन रावल, बूंद राना, रवि प्राञ्जल, डा. घनश्याम परिश्रमी लगायत असङख्य गजलकारहरुले गजल निर्माण गरिसकेकाछन् । यसरी गजललाई छन्दभित्र ढाल्ने क्रममा लगभग हराइसकेको फारसी बहरलाई नेपाली गजलमा सजाएर ‘अनाममण्डली’का गजलमा समर्पित केही स्रष्टाहरुद्वारा संकलित बहरबध्द गजलहरुको संकलन ‘बहरमाला– २०६३’ को प्रकाशन समेत नेपाली गजल साहित्यमा भइसकेको छ ।
उर्दु र संस्कृतका समेत अध्येता मनु ब्राजाकी फारसी बहर तथा संस्कृतको पिंगल छन्दका समेत ज्ञाता हुन् । तथापि सहजताका साथ शास्त्रीय छन्द वा बहरमा रचनालाई ढाल्न सक्ने प्रकृति–प्रदत्त प्रतिभा बिना आग्रहपुर्वक वार्णिक छन्द वा बहरमा बाँधिएर गजल सिर्जना गर्दा गजलमा गेयता र लयको अभाव खट्किन सक्ने तथ्यलाई बुझेका मनुले परम्परागत शास्त्रीय छन्दको अपेक्षा स्वनिर्मित मात्राछन्दमा बाँधिएर गजल सिर्जना गर्न रुचाए । हुन पनि केवल शास्त्रीय सूत्रमा बाँधिएको तर लयहीन गजलको कल्पना गर्नु स्तनबिहिन सुन्दर युवतीको कल्पना गरे जस्तै हो । कुनै पनि समवेदनशील व्यक्तिलाई त्यो युवतीको अवस्था ले पीडा दिए जस्तै लयका पारखीका सामु बलात् सूत्रमा ढालिएको लयहीन र सपाट गजल देखापर्दा त्यस्तै पीडा हुन्छ,र त्यस्तो पीडा यस पंक्तिकारले पनि धेरै पटक भोगेको छ । गजलकारमा लय–चेतना नभएसम्म छन्द वा सूत्रको ज्ञान निरर्थक हुन्छ । शास्त्रीय ज्ञान र सृजना–शक्ति अलग अलग कुरा हुन् । शास्त्रीय ज्ञान हासिल हुंदैमा लय–चेतना प्राप्त हुंदैन । सूत्रको शास्त्रीय ज्ञान संगै लय–चेतनायुक्त प्रतिभासम्पन्न गजलकारहरु नेपाली साहित्यमा हातको औंलामा गन्नु पर्ने संख्यामा रहेका छन् ।
यहाँ एउटा उल्लेख गर्नै पर्ने कुरा के छ भने नेपाली समालोचनामा छन्द र लय लाई हेर्ने समालोचकीय दृष्टिकोण लगभग एउटै प्रकारकोे पाइएको छ । जसले गर्दा पाठकहरु प्रायः भ्रमित भइरहेका हुन्छन् । गाइएको गीत वा गजलको भाकालाई प्रायः ‘लय’ भन्ने गरिएको पाइन्छ ।वास्तबमा समयको समान बिभाजन वा गति लाई लय भनिन्छ ।लय भनेको गीतको ‘भाका’ वा ‘धून’ न भई समयको नियमित गतिमयता र एकरुपता हो । ‘छन्द’ काब्यको अंग हो भने ‘लय’ संगीतको तालसँग सम्बध्द अंग हो । तर यी दुबै तत्वहरु दुबै बिधामा सहायक तत्वका रुपमा रहेका हुन्छन् । संगीतको तालसँग लयको सम्बन्ध रहेको हुन्छ । हरेक तालभित्र एउटा लय हुन्छ । लय पनि बिलम्बित,मध्य,द्रुत,अति द्रुत वा अति विलम्बित हुन सक्छ । गीत वा गजल लाई संगीतबध्द गरेर गाईंदा मात्र लय प्रकट हुने होइन,अपितु कुनै पनि शास्त्रीय वा स्व्निर्मित छन्दमा गजल वाचन गरिंदा समेत निश्चित समयावधिको समान गतिमा लय प्रकट भइरहेको हुन्छ । र त्यो लयात्मकताको शैली र भङ्गिमाभित्र गजलको सौन्दर्यता र सांगीतिकता ध्वनित भइरहेको हुन्छ ।
हुन त मनुका सबै गजलहरु लयका दृष्टिले उत्कृष्ट बन्न सकेका छैनन् । संख्यात्मक वृध्दिका अनुपातमा गुणात्मक वृध्दि न्यून हुनु स्वाभाविक पनि हो । किनकि उनका गजलगङ्गा र काँढाका फूलहरु गजल सँग्रहमा छापिएका गजलहरुको संख्या मात्र एक सय अन्ठान्नब्बे छ । अन्य पत्रपत्रिकामा प्रकाशित फुटकर गजलहरु समेत गणना गर्दा उनका लगभग तीन सय जति गजलहरु प्रकाशित भइसकेको देखिन्छ । गजल लेखनमा उनको निरन्तरता देख्दा उनका अप्रकाशित गजलहरुको संख्या अझै प्रशस्त रहेको अनुमान गर्न सकिन्छ । पुस्तकाकार रुपमा प्रकाशित मनुका उपर्युक्त दुई कृतिभित्रका गजलहरुका अतिरिक्त फुटकर रुपमा प्रकाशित केही उपलब्ध गजलहरुलार्ई केलाउँदा उनका अधिकांश गजलहरुमा पारम्परिक रुपमा प्रयोग गरिंदै आएको ‘स्वनिर्मित’ भनिने मुख्यतः निम्न तीन प्रकारका ‘मात्राछन्द’हरुको अतिरिक्त बिबिध मात्राका अन्य स्वनिर्मित छन्दहरुको समेत प्रयोग भएको पाइन्छ ।

१) स्वनिर्मित सोह्र मात्राको छन्द
यो छन्द मनु ब्राजाकीका गजलमा सबै भन्दा बढी प्रयोग गरिएको छन्द हो । सोह्र अक्षरी यो मात्रिक छन्द मात्रागत रुपमा उर्दूको वार्णिक छन्द ‘बहरे हजज’ र ‘बहरे रमल’ अनि पिंगलको सोह्र मात्राको अनुष्टूप छन्द जस्तै अत्यन्त प्रचलित छन्द हो । मनुका पछिल्ला समयका गजलहरुमा प्रायः यही छन्दको प्रयोग भएको पाइन्छ । अक्षरका आधारमा मात्रा गणना गर्दा आठौंैं मात्रामा विश्राम हुने यो छन्दकोे स्वरुप यस्तो छ —
‘कस् का ला गि उन् न था ल्यौ आ ज फू ल मा ला ह रू,
ग न ति मी फूल् का थुं गा गन् दै छु म प्या ला ह रू ’
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६
यो गजललाई मालती आचार्यको संगीतमा चर्चित गायक शिव परियारले आफ्नो स्वरले सिँगारेर अझै सशक्त बनाएका छन् । शास्त्रीय राग ‘मिश्र यमन’लाइ आधार बनाएर संगीतबध्द गरिएको मनु ब्राजाकीको उल्ल्ेखित गजलको दुइ शेर यस्तो छ –
‘‘कस्का लागि उन्न थाल्यौ आज फूल मालाहरू ।
गन तिमी फूलका थुंगा गन्दैछु म प्यालाहरू ।
पहिरोको ढुङ्गा जस्तै आँखा बाट झरे पछि ,
फेरि आइलाग्ने होलान् मनका ती उकालाहरू ।’’
(गजलगङ्गा–२०५१)
मनुका यसै छन्दमा रचित प्रकृतिप्रेम, राष्ट्र प्रेम तथा राजनैतिक ब्यङ्ग्यचेतनाले युक्त गजलका अन्य केही सुन्दर शेर हेरौं,जसमा लाक्षणिक ढंगले कलात्मक विन्यासका साथ उपर्युक्त भावनाहरु अभिव्यक्त भएका छन् –

‘‘ सोच्न थालें,गम्न थालें तिमी लाई देखे पछि ।
तिमी जस्तै दुरुस्त नै एउटा गजल लेखे पछि ।
जून हाँस्यो अँधेरीको केश राशि पन्छाएर,
तिमी हाँस्यौ भनी हाँसे होला अब केके पछि । ’’
(गजलगङ्गा–२०५१)
‘‘ उदाएको साँझ थियो, बिहानीको नाम लाग्यो ।
अनिदा छन् आँखाहरू रात भरि घाम लाग्यो ।
माथि हेर्दा उजिएको खुकुरी झैं नेपाल यो,
तल हेर्दा पल्टिएको केराको नै थाम लाग्यो ।’’
(गजलगङ्गा–२०५१)
‘‘ लुटिंदैछ देश मेरो राष्ट्र गीत गाउने बाट ।
दौरा सुरवाल ढाकाटोपी मिलाएर लाउने बाट ।
निको पार्न सकिएला नेपालको क्षयरोग ?
रुघा खोकी लाग्दा पनि पारिपट्टि धाउने बाट ।’’
(काँढाका फूलहरू–२०५६)
२)स्वनिर्मित चौध मात्राको छन्द
यो छन्द पनि गजलका अतिरिक्त गीतहरुमा समेत परम्परिक रुपमा श्रष्टाहरुद्वारा प्रयोग गरिंदै आएको मात्राछन्द हो ।मनुले अत्यधिक प्रयोग गर्ने गरेको छन्दहरुमा यो छन्द पनि पर्दछ । यो छन्दमा बाँधिएका मनुका अधिकांश गजलहरु गेयात्मक तथा लयात्मक पनि छन् । यसै मात्राछन्दमा रचिएको मनुको प्रशिध्द निम्न गजलका दुई शेर हेरौं ।
‘‘सुनेकै हो मैले पनि बूढा पाका बाट ।
मुटुसम्म जाने बाटो हुन्छ आँखा बाट ।
यता हेर्दा उता हेर्छौ, उता हेर्दा यता,
जोगाउन मुटु लाई चोर डाँका बाट ।’’
(गजलगङ्गा–२०५१)
चौध मात्राको यी गजलका शेरहरूलाई शास्त्रीय गायनमा ‘दीपचन्दी’ तथा लोक गायनमा ‘चाँचर’ नामले प्रशिध्द चौध मात्राकै तालमा निम्न लयतबतष्यल(स्वरलिपि)अनुसार यसरी पनि गाउन सकिन्छ ।
(क) ‘मत्ला’ वा स्थायी पंक्तिको स्वरलिपि
.प सा सा । सा – सा – । सा रे रे । रे – रे –
सु ऽ ने । कै ऽ हो ऽ । मै ऽ ले । प ऽ नि ऽ
सा ग ग । ग – रे सा । सा रे – । – – – –
बू ऽ ढा । पा ऽ का ऽ । बा ट ऽ । ऽ ऽ ऽ ऽ
रे प प । प – पध प । ग – ग । रे – रे –
मु ऽ टु । सम् ऽ म ऽ । जा ऽ ने । बा ऽ टो ऽ
रे प ग । रे – ग रे । सा सा – । – – – –
हुन् ऽ छ । आँ ऽ खा ऽ । बा ट ऽ । ऽ ऽ ऽ ऽ
× । 2 । 0 । 3

(ख) अन्तरा वा बाँकी शेरहरुको स्वरलिपि
ग ग – । ग – गप ग । रे रे ग । रे सा सा सा
य ता ऽ । हे र दाऽ ऽ । उ ता ऽ । हे र छौ ऽ
ध – ध । ध – प ग । ग प – । – – ध प
उ ऽ ता । हे र दा ऽ । य ता ऽ । ऽ ऽ ऽ ऽ
रे प प । प – पध प । ग – ग । रे – रे –
जो गा ऽ । उ ऽ न ऽ । मु ऽ टु । ला ऽ ई ऽ
रे प ग । रे – ग रे । सा सा – । – – – –
चो ऽ र । डाँ ऽ का ऽ । बा ट ऽ । ऽ ऽ ऽ ऽ
× । 2 । 0 ।3
मनुका यसै मात्राछन्दभित्र रचित इन्द्रियसंवेद्य विम्ब तथा स्वकीयता प्रकट भएका गजलका अन्य शेरहरू हेरौं ।
‘‘घर देखि घाट सम्म जीबन दूरी होला ।
त्यहाँसम्म पु¥याइदिने हावा हुरी होला ।

अणुबमको पछाडि म देख्छु तिमी लाई,
बाँचेको छु भन्दा साह्रै कुरी कुरी होला ।’’
(काँढाका फूलहरू –२०५६)
‘‘मनुलाई ल्याएको छु आज फकाएर ।
उसैसँग हिँड्दै छु म भित्ता समाएर ।

पुगे पछि मन्दिरमा आफ्नै मूर्ति देखी,
फर्किएछु एक बोतल रक्सी चढाएर ।’’
(काँढाका फूलहरू –२०५६)
३) स्वनिर्मित बाह्र मात्राको छन्द
मनुले प्रयोग गरेको यो छन्द परम्परिक मात्राछन्द भन्दा पृथक ढंगकोे देखापर्छ । विशिष्ट लय र लचकताले युक्त यो छन्द मनुको मौलिक स्वनिर्मित मात्रा छन्द हो । छयालीस साल पूर्वका मनुका केही गजलहरूमा उनले यो छन्द प्रयोग गरेका छन् भने पचासको दशकपछिका केही गजलहरुमा पनि यो छन्दको प्रयोग गरिएको छ । यस छन्दमा रचिएका मनुका प्रायः गजलहरुमा सामाजिक तथा राजनीतिक विसंगतिहरूलाई मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको पाइन्छ ।यो छन्दमा रचिएका मनुका केही गजलका शेरहरू हेरौं ।
‘‘मगन्तेका दिन फिरे, बेसै भयो ।
उधारोले रिन तिरे, बेसै भयो ।
ऐनाले पो चिन्ने होकि भन्ने ठानी,
साह्रै कालो चस्मा भिरे,बेसै भयो ।’’
(काँढाका फूलहरू –२०५६)
‘‘बेहोसी मै यति माया गरिएछ ।
होस आयो भन्ने भ्रममा परिएछ

मृत्यु सँग सुक्खसाथ बाँचेको छु,
जति पटक बाँचे पनि मरिएछ ।’’
(काँढाका फूलहरू –२०५६)

‘‘हेर याहाँ काँढा माथि पात पर्यो ।
पातमाथि फूलै फूलको खात पर्यो ।

भनी देऊ माया तिमी बिर्सि सकें,
के चैं अब तिम्रो मेरो जात पर्यो ।

म भने त जागेकै छु ‘मनु’ सँग,
जूनकीरी नै भए पनि हात पर्यो।’’
(गजलगङ्गा–२०५१)
उल्लेखित ‘हेर याहाँ काँढा माथि पात पर्यो’ गजललाई 4/4 Beat को कहरवा तालमा संगीतबध्द गरी निम्न स्वरलिपि अनुसार यसरी पनि गाउन सकिन्छ ।
(क) ‘मत्ला’ वा स्थायी पंक्तिको स्वरलिपि
– .ध .नि सा । – सा सा – । सा – रे सा।.नि .ध – –
ऽ हे र याँ । ऽ हाँ काँ ऽ । ढा ऽ ऽ मा । थि ऽ ऽ ऽ
रे – – – । – – –ग रे । सा – – – । ऽ ऽ ऽ ऽ
पा ऽ ऽ ऽ । ऽ ऽ ऽत् प । र्यो ऽ ऽ ऽ । ऽ ऽ ऽ ऽ
– सा रे म । – म म – । प म – रे । – सा – –
ऽ पा त मा । ऽ थि फू ऽ । लै ऽ ऽ फू । ल को ऽ ऽ
ध ऽ ऽ ऽ । ऽ ऽ ऽरे सा । सा ऽ ऽ ऽ । ऽ ऽ ऽ ऽ
खा ऽ ऽ ऽ । ऽ ऽ ऽत् प । र्यो ऽ ऽ ऽ । ऽ ऽ ऽ ऽ
× ।0 ।× ।0
(ख) अन्तरा वा बाँकि शेरहरुको स्वरलिपि
– – – म । प नि – – । सां – सां – । – नि सां –
ऽ ऽ ऽ भ । नि दे ऽ ऊ । मा ऽ याँ ऽ । ऽ ति मी ऽ
– – – सां । नि प म म । प – – मप । मरे सा – –
ऽ ऽ ऽ बि । र सि ऽ स । कें ऽ ऽ ऽऽ । ऽऽ ऽ ऽ ऽ
– सा रे म । – म म – । प म – रे । – सा – –
ऽ के चैं अ । ऽ ब तिं ऽ । रो ऽ ऽ मे । रो ऽ ऽ ऽ
.ध – – –। – – –रे सा। सा – – – । – – – –
जा ऽ ऽ ऽ । ऽ ऽ ऽत् प । र्यो ऽ ऽ ऽ । ऽ ऽ ऽ ऽ
× । 0 । × । 0
यसका अतिरिक्त अठार मात्राको स्वनिर्मित छन्द, बीस मात्राको स्व्निर्मित छन्द,सोह्र मात्राको लोक(झयाउरे) छन्द देखि छब्बीस मात्राको स्वनिर्मित छन्दको प्रयोग समेत मनुले गरेका छन् भने चौध मात्राको छन्दका उपभेदका रुपमा तेह्र मात्रा र पन्ध्र मात्राका स्वनिर्मित छन्दहरुमा समेत मनुले गजल रचना गरेका छन् । शेरको पहिलो पंक्ति सम मात्री हुँदा दोश्रो पंक्ति विषम मात्री र शेरको पहिलो पंक्ति विषम मात्री हुँदा दोश्रो पंक्ति सम मात्री हुने जस्ता मौलिक प्रयोग पनि उनका केही गजलहरुमा देखिन्छ । त्यस्ता पारम्परिक मात्राछन्द भन्दा पृथक शैलीका स्वनिर्मित मात्रा छन्दमा बाँधिएका गजलहरुमा मनुको अभिव्यक्ति कौशलता वा ‘अन्दाजे बयाँ’ उनका अन्य मात्राछन्दका गजलहरुको तूलनामा सशक्त रुपमा प्रकट भएको पाइन्छ । उदाहरणका लागि अठार मात्राको स्वनिर्मित मात्राछन्दमा रचित मनुका निम्न गजलका शेरहरुलाई लिन सकिन्छ । जसमा हार्दिकता, कोमलता, बिम्ब,अलंकार र अभिब्यक्ति कौशलतासँगै लयात्मकता ध्वनित भएको छ । एउटा विशिष्ट प्रकारको सन्तुलित लयले यो गजलको सौन्दर्यता बढाएको छ । लयका आधारमा नवौं मात्रामा विश्राम रहने उन्को यो गजलमा चौथो मात्रा, र तेह्रौं मात्रामा समेत अध्र्द विश्राम रहेको देखिन्छ । विशेषतः शास्त्रीय छन्द वा बहरमा प्रकट हुने विशिष्ट शैलीको विश्रामयुक्त मात्राछन्दमा रचित यो गजलको दुई शेर यस्तो छ –
‘‘माया गर्न थालेको मैले तिमी राम्री भएर हो कि ?
कित राम्री भएकी तिमी मैले माया गरेर हो कि ?
फूल भन्नु चिनेको मैले सिउँडीको फूल नै थियो,
आज फूल बिझाउन छोड्यो तिमी मन परेर होकि ?’’
(गजलगङ्गा–२०५१)
मनुको यो गजललाई गजलको छन्द अनुरुप नै चौथो,नवौं र तेह्रौं अक्षरमा विश्राम पारेर आठ मात्राको कहरवा ताल 4/4 Beat मा यसरी पनि वाचन गर्न सकिन्छ –
× ।0 × 0
ऽ ऽ ऽ ऽ । – मा ऽ याँ । ग र न ऽ । ऽ था ले को
मै ऽ ले ऽ । ऽ ति ऽ मी । राम् ऽ री ऽ । ऽ भ ए र
हो ऽ कि ऽ । ऽ कि ऽ त । राम् ऽ री ऽ । ऽ भ ए की
ति ऽ मी ऽ । ऽ मै ऽ ले । मा ऽ या ऽ । ऽ ग रे र
हो ऽ कि ऽ । ऽ फू ऽ ल । भ न् नु ऽ । ऽ चि ने को
मै ऽ ले ऽ । ऽ सि ऽ उँ । डी ऽ को ऽ । ऽ फू ल नै
थि ऽ यो ऽ । ऽ आ ऽ ज । फू ऽ ल ऽ । ऽ बि झाउ न
छो ऽ ड्यो ऽ । ऽ ति ऽ मी । म ऽ न ऽ । ऽ प रे र
हो ऽ कि ऽ । 0 । × । 0
×
यसरी आधुनिक नेपाली गजलको विकासका क्रममा स्व्निर्मित मात्राछन्दका प्रणेताका रुपमा परिचित मनुका कतिपय गजलहरुमा पुनरुक्ति दोष, भावको अस्पष्टता र गजलका आरम्भका शेरहरुका तूलनामा पछिल्ला शेरहरुमा भाव–गाम्भीर्यताको कमि र अभिधामूलक प्रस्तुति जस्ता सामान्य दुर्बलताहरु पनि नभेटिने होइनन् । तथापि संस्कृतको पिंगल छन्दका गण, वर्ण अथवा फारसी साहित्यका ‘रूक्न, अर्कान जस्ता छन्द वा बहर निर्माणका जटिल सूत्रहरु नपछ्याईकन पनि आफ्नै देशको हावा–पानी र माटो सुहाउँदो लोक छन्द तथा स्वनिर्मित मात्राछन्दमा सुन्दर गजल निर्माण गर्न सक्षम मनु ब्राजाकीका गजलहरुले नेपाली गजलको इतिहासमा आफ्नो अलग्गै शैली र पहिचान बनाएका छन् । नेपाली गजलमा उनको उपस्थिति अत्यन्त अर्थपूर्ण रहेको छ । र नेपाली गजल क्षेत्रमा उनको समर्पण र उनले पुराएको योगदानबाट नेपाली गजललले एउटा नयाँ गति तथा उँचाई प्राप्त गरेको छ । अस्तु । 
सृजनाकलाहरहरु बाट

0 comments

Write Down Your Responses

तपाइको अमुल्य सल्लाह , सुझाब र प्रतिक्रिया दिन नभुल्नुहोस् । Please, drop Your Valuable Comment Here ..Or Direct Send us Email Info.nbnabinudasi@writeme.com / Onlinesahityikblog@gmail.com