नियात्रा


- जगत नवोदित
लामिडाँडामा प्लेन बाट ओर्लिन्दा दिउसोको ठीक १ बजेको थियो। लामो श्वास फेरेर एकचोटी माटोलाई मन मनै ढोगे । लामिडाँडा सँगको मेरो भेट करिब एक दशक पछीको थियो यो। रहरलाग्दो टिन एजको अन्तिम खुट्किलामा म हिड्दै गर्दा हिंडेको थिए लाहुर यही बाटो भएर। त्यतिबेला छोडेका साना साना नानीहरु बढेर चिन्नै नसकिने भई सकेछन । तर धन्य प्रमिला बहिनिलाई मैले चिने, उन्ले पनि भुलेकी थिईनन रहेछ। "अबुइ! जगत दाजु एक्लै! खोइ त भाउजु ?" तिनले पहिलो नजरमै प्रश्न तेर्साइन। भन्ने हो भने यो प्रश्नको जवाफ मैले कतिलाई कसरी कसरी दिए आँफैलाई थाहा छैन । नढाटी भन्ने हो भने मैले जीवनमा सबसे धेरै फेस गरेको प्रश्न पनि यसै सँग सम्बन्धित छ। ठटेउली गर्दै भने-" कहाँ एक्लै हुने नि, मेरो साथ् बाबा हुनुहुन्छ, ठुलिदिदी नि हुनुहुन्छ अनी थाहा छ मेरो भान्जी नि छ। अब भाउजु नै खोजेको हो भने चाही उहा घरमा खाना पकाएर देवरको बाटो हेरीरहनु भको होला। " मेरो कुराले उनी अवाक्क भईन शायद। अरु कुरा छोडेर हाम्रो लागि खाजा बनाउन पट्टी लागिन ।



प्रमिला बैनिको यो घर हाम्रो लागि होटेल जो लामिडाँडाको लागि एकदम प्रचलित थियो, अहिले पनि रहेछ । फरक यती पाए उतिबेला सासुमाले सम्हालेको जिम्मा अहिले बैनी जो घरको बुहारीमा आईपरेको रहेछ । खाजा खाएपछी हामीले लामिडाँडालाई चाडै छोड्नु थियो र लाग्नु थियो हलेशि महादेवको दर्शन गर्न।

हामी सँगै जानेमा थपिए फ्रेन्च नागरिक अन्ना र भारतीय नागरिक निकेश। हामी सँग यात्राको लागि दुइ किसिमका उपायहरु थिए। एक -साझा बसमा मौरे सम्म जानु र दिक्तेलबाट आउने हलेशी जाने साझा बस पर्खनु। दोस्रो- सोझै गाडी रिजर्ब गर्नु र आफ्नो गन्तब्यमा हुइकिनु। दोस्रो बाटो हामीले समात्ने निर्णय गर्यौ । तर दुर्छिमे ड्राइभर रमेश भाईले सुरुमा दोब्बर सुल्क सुनाएर मनै झन्डै परिवर्तन गराइदिए। जे होस् रमेश भाईले त्यही दिन हलेशी पुर्याएर दिक्तेल फर्काउने सर्त आठ हजार रुपयामा स्विकारे। त्यसपछी सुरु भो हाम्रो गाडीमा यात्रा । बाबा गाडीको अगाडि बस्नु भयो बाँकी हामी पछाडि बस्यौ। गाडीको पछाडि सिट्को एक साइडमा ठुल्दिदी इमान, भान्जी आईरिस र म अनी अर्को पट्टी अन्ना, निकेस र मौरेसम्म जाने बुइपाली दिदी हुनु हुन्थ्यो। गाडी गूड्न मात्र सुरु गरेको बेलामा खलाशी भाईले गाडी रोक्न ढोका ढक्ढक्यायो। नभन्दै एकजना राष्ट्रिय पोशाकमा सजिएका मोटो मान्छे आँखा अघी हाजिर थिए। उनले सरासर गाडीमा जिउलाई भित्राए। ठाउँ उसै पुरा भईसकेको त्यसमाथी मोटो ज्यानलाई कहाँ हुने खाली ठाउँ ? त्यही पनि कती अफटेरो नमानी मेरो छेउमा घुस्रिए ।

" मलाई छोडेर कहाँ हिंड्न लागेको?" उल्टो ड्राइभर भाईमा खनिए उनी।

ड्राइभर भाईले केही नबोली गाडी चलाउन सुरु गरे। मैले पनि केही बोल्ने मन गरिन। जसै गाडी चल्न सुरु भो हाम्रो ज्यान उफ्रन सुरु भो। खाल्डाखुल्डी, सागुरो, भिरालो र अत्यन्तै जोखिम खाल्को बाटो देखेर सब कुरा हराम भो। यस्तो असजिलो समयमा पनि उनले धेरै कुरा गर्न भ्याए। चिन्जान भो। उनले आफ्नो गाउँदेखी काठमाडौं सम्मको औकात सुनाए, केबल एक फोनको भरमा सब काम हुने बयान समेत बताउन भ्याए।यो सब कुरामा मलाई कती रुची थिएन। बस मनमा सोचिरहेथे- यिनको ज्यानले मलाई सकस नदिए यो लामो यात्रा अली जाती हुने थियो । दिदि पनि भान्जिलाई चेपेर असजिलो भईरहनुभको थियो। तर बोल्न चाँही केही बोल्नु भएको थिएन।

मौरेमा गाडी पुगेपछी बुइपाली दिदी ओर्लनु भो र ति महासय नि बिदै नमागी आफ्नो बाटो लागे। कसो कसो अनौठो लाग्यो। गाडी अगाडि गूड्न सुरु भए पछी रमेश भाईले भने-"के गर्नु अघी नि सितैमा चढेर गको। अस्ती हुदोको नि बाँकी छ। खाली सितैमा चडने बानी भको। सामन्ती प्रबितिका मान्छेहरु देखी कहिले मुक्ती नपाईने रहेछ। "

देख्दाको महासयको बानी हेर्दा ड्राइभर भाईको कुरा पत्याउन लाएक थियो। तर मलाई बोल्न मन लागेन। हामी जती जती हलेशी तिर नजिकियौ, दिन उती उती रिसाउदै कालो हुँदै गयो। कुहिरोले ढाकेर बाटो छेक्न थाल्यो। घामले अनुहार कतै देखाउन सकेन। बाटो झन साह्रै भिरालो हुँदै आयो। ओ हो कस्तो साइत परेछ आज -मनमा नमिठो लागेर आयो। पानी पर्ला पर्लाको परिस्थिती भोग्दै हामी अघी गूडिरहयौ।

मालथुम्की डाँडाको छेउमा बाटो रहेछ भिर । त्यस माथी ढुङ्गाको पहाड फोडेर बाटो बनाइएको रहेछ। त्यस अफ्ठेरो ईलाकामै रमेश भाईले जिप रोके। सुरुमा त कारण थाहा नै भएन। एक्छिन पछी भने थाहा भो उनले हातमा धुपबत्ती बोकेर गाडी बाहिर निस्किए । बाटोको अली माथि उक्लिए, उनले नियमित पूजा गर्ने ठाउँ रहेछ त्यो । ड्राइभर भाईको प्रार्थना पुरा भए पछी भने हाम्रो यात्रा फेरी अघी बढ्यो।मालाथुम्की डाँडा काटेर अर्को डाँडा ननाग्दै हातमा किताब बोकेका केही स्कुले नानीहरुले बाटोको छेउमा उभिएर हात हल्लाइरहेका थिए । उनिहरुको सन्केत गाडी रोक्ने थियो । पानी आउनै लागेको त्यो बेला उनिहरुलाई छोड्नु हाम्रो मनले मानेन। चेपाचेप नै भए पनि हामी यात्रा गर्ने परिस्थितीमा पुग्यौ ।एस् एल सि को फलामे ढोका पार गर्न जाच दिरहेका ति तीन जना नानीहरुसँग ड्राइभर भाईको अली अली चिन्जान रहेछ । आखिर उनी पनि परे त्यही गाउँको ।

स्कुले नानीहरु सँग कुराकानी गर्दा थाहा लाग्यो अर्को दिनको परिक्षाको बिषय रहेछ- जन्सङ्ख्या र बातावरण । मलाई जिज्ञासा लाग्यो- साची अहिले नेपालको जनस्ङ्ख्या कती पो छ?

“खोइ हामीलाई त थाहा छैन दाई “- अली बोलक्कड बहिनिले बोलिन।

“हैन यती प्रश्नको जवाफ नदिनेले भोली के परिक्षा दिन्छौ हौ ?”- ड्राइभर भाईले सोझै कुरा राखे।

“उतर सबै जान्न जरुरी छैन दाजै,सरहरुले नै आएर सिकाउनु हुन्छ”- अर्की बैनिले नढाटी खाटी कुरा सुनाइन।

सरहरुले नै सिकाउने त्यस्तो परिक्षाको अर्थ र त्यसमा पास हुने बिद्द्यार्थिको महत्व कती होला मैले मन मनै सोचे |

सरहरुको बारेमा नकारात्मक टिपणी गर्न नि सकिन कारण मलाई क,ख सिकाएर ३५ बर्ष शिक्षक जीवन गुजार्नु हुने मेरा पूजनिय बाबा हाम्रो सम्बाद सुनिरहनु भएको थियो। म बालक छदा बाबाले सिकाउनु भएको गुरुहरु प्रतिको श्रद्दा म कहिले भुल्न सक्दिन। जीवनको उज्यालो बाटो देखाउने गुरुहरु मेरो लागि सधैं नै आदर्णीय हुन्छन।

जब गाडी हलेशीथान नजिकै रोकियो तब सबै जना ओर्लियौ । स्कुले नानीहरु गाडीको भाडा तिर्न खोज्दै थिए। “लु!आजको यो भाडाले चाँही तिमीहरुले खाजा खानु है !अनी परिक्षा राम्रो गर्नु”- मैले बोले।

उनिहरु धन्यवाद बोलेर बिदावारी भए । सहयात्री राकेश र एन्ना पनि एउटा फोटो खिचेर हामी बाट छुट्टिए । ड्राइभर भाई र उस्को साथीलाई एकै छिन छोडिराखेर हामी भने लाग्यौ भगवानको दर्शन गर्न। मुख्य द्वारको बाहिर पट्टी फूलपाती, धुपपाती बेच्नेको लाम रहेछ। भगवानको बास छेउमा उनिहरु बिच चल्ने ग्राहक तानातानको खेल हेर्न लाएक थियो।

रु १ दिएर ८० पैसा चानचुन पाइने रहेछ। गजब नै लाग्यो । मैले रु ५ को नोट दिएर ४ रुपया चानचुने पैसा बोकेर भगवान दर्शन गर्न छिरे। हलेशीथानलाई एक फन्को मारेर गाडी छेउ पुग्दा साँझले बास माग्न थालिसकेको थियो। हामीले हलेशी छोड्दा झमकै साँझ परिसकेको थियो। हामी जती जती दिक्तेल भेट्न अघी गूड्यौ रात उती उती रिसाउदै कालो कालो बन्दै आयो। रात आफु मात्र रिसाएर आएन आउँदा आफु सँग कालो बादल पनि लिएर आयो । मौरे छेउ पुग्ने बेलामा त असिना सँगै पानी पनि दर्कियो । खलासी भाईले हतार हतार छानाको झोला भित्र हुले। ड्राइभर भाई बोल्यो- “भगवानले नुहाउनु भो “, हामीले सहमती जनायौ ।

पानी दर्किरहयो र हाम्रो गाडीको पाङ्ग्रा पनि अनवरत चलिरहयो। मौरे पुग्दा पानी रोकियो तर बाटो पुरै हिलाम्य भई सकेको थियो। मौरेको जाडो रातमा तातो चियाको सुर्को तानेर हामी फेरी दिक्तेलको बाटो लाग्यौ। नुन्थलाको जङ्गल काटेर मुढे डाँडा पुग्दा दिक्तेल बजारमा टिल्पिल टिल्पिल बत्ती बलिरहेको देखियो। मन दङ भयो । आफ्नो जिल्लामा गाडी चढेर बिजुली बत्तीको उज्यालो देखेको यो पहिलो अवसर थियो मेरो । मन यसै फुरुङ भएर आयो । तर मुढे डाँडामा पहिले पहिले पिईने ईन्द्रकला बैनिको तातो चिया भने उस दिन पाईएन। कारण गाडीको बाटोले त उन्को दोकान नै बाइपास गर्दो रहेछ। हामी दिक्तेलको रत्नपार्कमा ओर्लदा घडीले १० बजेको सुचना दिसकेको थियो । त्यती अबेर सम्म पनि बाबा, भाई, बहिनी र भान्जिको मायाले दाई बाटो हेरेर बसिरहनु भको रहेछ। दाइले बासको प्रबन्ध होटेल फुयालमा मिलाउनु भको रहेछ। थाकेको ज्यानले सिर्फ आराम खोजिरहेको बेला राम्रो बिछयौनामा पल्टिना साथ् निन्द्राले छोपीहाल्यो।

रात बित्यो र समय क्रमसँग उज्यालो बोकेर बिहान् आयो । बिहानि सँगै मेरो दिक्तेल माया बोकेर आँखा अघी आयो । तर दिक्तेलको रुप पहिले जस्तो थिएन बिच बाटोको ताकिलहरु सब भत्काएर बिच बजार बाट गाडी हिंड्ने बाटो बनाइएको रहेछ । ठाउँ ठाउमा गाडीको पाङ्राले बनाएको गहिरो डोबले मलाई दिक्तेलको आङ भरी घाऊ नै घाऊ लागेको प्रतित भो ।

दिक्तेलको रुप बद्लिए पनि मलाई माया गर्ने धेरैको मन बद्लिएको थिएन । बिहानिको चिया खाँदै गर्दा सागर दाई सँग भेट भो । माउन्ट एभरेस्ट जस्तो प्रतिष्ठित बोर्डिङ स्कुलको प्रिन्सिपल सागर दाई मलाई चिने देखी भाई झै व्यबहार गर्नु हुन्छ । त्यो व्यबहार दसबर्ष पछी पनि कतै बद्लेको थिएन। तर उहाको शरीर भने निक्कै बद्लिएछ । उ बेलाको लुते सागर दाई अब त मोटे सागर दाई हुनु भएछ। जिल्लाको धेरै बिषयमा उहा सँग कुरा भयो, छोटो बसाईमा । दिउसो-बाबाको पुरानो नागरिकता नयाँ बनाउनु थियो । बाबालाई अघिल्लो दिन गाडीको उचाल्ने र पछार्ने यात्राले निक्कै गलाएको थियो , उसो भएर मैले नै उहाको काम गर्न जागरुक बने । सरकारी कार्यलयमा पुगेर सम्बन्धित कारीन्दा सँग बुझ्दा त काम उसदिन हुन नसक्ने बुझियो । म यसो फर्कन लागेको दिदी चन्दा टुप्लुक्कै देखा पर्नु भो । चन्दा दिदी मेरो ठुल्दिदिको सहपाठी दिदी- मलाई सानै देखी माया गर्ने दिदी भेटेर खुशी लाग्यो । उहाको अनुहारमा पनि आस्चर्यको खुशी भाब देखे। दिदी त त्यही नै काम गर्ने कर्मचारी हुनुहुँदो रहेछ, भलाकुसारीमा उहालाई मेरो समस्या थाहा भो। तुरुन्त सम्बन्धित बिभागमा मेरो कामको लागि उहाले बोल्नु भयो। मेरो कामको फायल अघी बढ्यो ।
दिदिले चिया मगाउनु भो। आफ्नो साथीहरु सँग चिनाउनु भो अनी यसो नि भन्नु भो - "मेरो भाई त लाहुरे भएर पनि जस्ताको त्यस्तै रहेछ। किन आज सम्म एक्लो ?" म सँग खाट्टी उतर थिएन सिर्फ मुस्कुराए। कुरा बुझ्दै जाँदा स्कुले साथी सिताराम र शान्ताकुमार पनि त्यही कर्मचारी रहेछन । एक किसिमको गर्ब भयो । "यहाँ हाम्रो हाकिम भएर बस्नु पर्ने मान्छे लाहुरे भएर किन गएको ?" सहपाठी सितारामले मनको कुरा खोले। फेरी पनि म सँग खास उतर थिएन । बस मुस्कुराए ।
सब चिन्जानको भएपछी त मेरो काम सोचे भन्दा धेरै नै छिटो भयो । काम सकी सबैसँग बिदा भएर होटेल फर्कदा मन्मनै सोचे- "नेपालमा कर्मचारी नचिनी काम सरासर हुने समय कहिले आउँला । सोझा सिधा जनताको लागि सरकारी काम कहिले सजिलो होला।"

होटेलमा पुग्दा शान्ता बैनी साथीहरु सँग भेट्न भनेर आएकी रहिछिन । नयाँ कवि, कवयित्रिहरु,पत्रकारहरुको सानो हुद्दा सँग भेट हुँदा म नौलो अनुभुतीले छोइए। सिर्जन्सिल मनहरु मेरो लागि आँफै आफन्त लागेर आउछन । उनिहरुको उभार, जिज्ञासा र जागरुकता देखेर मेरो धराने दिनहरु जीवन्त भएर आए। उनिहरुसँग आत्मियता गासियो र फेरी भेट्ने गरी हामी छुटियौ ।

होटेलको कोठामा प्रबेश गर्दा थाहा भो बाबा र भेना मलाई कुरिरहनु भएको रहेछ । उस साँझ ठुल्दिदिको घर जानुपर्ने निम्तो थियो । निम्तो सकेर बिहान् होटेल फर्कदा रुपाकोट एफ एम का निर्देशक टङ्क थापा सँग भेट भो । उहा उमेर र अरुपनी कती कुराले म भन्दा जेठा भए पनि हामी बिच मित्रताको भावना सबसे बलियो छ । चिया खाँदै उहाले सामुदायिक रुपाकोट एफ एम को बारेमा धेरै जानकारी गराउनु भो।

नेपाल भरिको सामुदायीक एफ एम रेडियोहरुमध्ये उत्कृष्ट स्टेशनको रुपमा रुपाकोट एफ एम पुरस्क्रित भएको थाहा पाउदा मन खुशीले आल्हादित बन्यो। यो प्राप्तीसँग धेरैजनाको दु:ख जोडीए पनि मुख्य दु:ख स्टेसन म्यानेजर टङ्क थापाको देखे । उनी जस्तो सिर्जन्सिल युवाको अभाब आजको हाम्रो समाजलाई सबसे धेरै छ । दिउसो उही एफ एम मा अन्तर्वर्ताको लागि निम्तो गरेर टङ्कजी बिदावारी भए । फुयल दाइको त्यो होटेल भन्ने हो भने धेरैको जमघट हुने थलो रहेछ। अब होटेलमा जिल्लाका नाम चलेका नेताजीहरुको हुल आयो। हुल सँगै साहित्यकार बिष्णु आभुषण आउनु भो । धेरैको लागि उहा नेता भए पनि मेरो लागि चाँही साहित्यकार हो । हामी बिच साहित्यको नाताले नै दाजु भाईको दरिलो सम्बन्ध भएको छ। जिल्लाको साहित्यिक बातावरणको बारेमा बताउनुको साथै आगामी दिनको योजना समेत सुनाउनु भो । राष्ट्रिय बाङमय प्रतिस्ठानको लागि भवन निर्माण गर्ने उहाको सोच भने मलाई एकदम राम्रो लाग्यो।

मध्यदिन हुन पूर्व हाम्रो सल्लाह मुताबिक टङ्कजी सँग भेट भो शहिद मनोज जोशीको घर अगाडि अनी हामी हानियौ रत्नपार्क तिर। बाटोमा साथीहरु भेटिए र यसै क्रममा कबी जे पि फिरन्ते सोल्मा जाने बाटोको घुम्तिमा भेटिए । उनले साहित्यकारहरुको मीटिङका लागि निम्तो समेत दिए। टङ्कजी र म भने सबै सँगको भेट्लाई सक्दो कम गर्दै छिटो छिटो बाटो काट्ने प्रयासमा थियौ । टङ्कजी भन्दै हुनुहुन्थ्यो "अहिले बिजुली जान्छ अनी हाम्रो योजना नै पुरा हुन्न ।" साँच्चि नभन्दै हामी बिजुली गएकै समयमा रुपाकोट एफ एम को कार्यालयमा पुग्यौ । अन्तर्वार्ता लिन कार्यक्रम संचालक भिम राइ तयारी भएर बस्नु भको रहेछ तर बिजुली नै नभए पछी बेहुलाबेहुली बिनाको बिहे जस्तो भो । तर बिजुली नभको त्यो मौकामा अरु साथीहरु सँग कुरा गर्ने मौका मिल्यो । अर्की कार्यक्रम सन्चलिका बैनी सम्झना भुजेलले अतितमा रेडियो नेपालमा सुनेको मेरो अन्तर्वार्ताको सम्झनै सुनाउनु भो । रेडियो कार्यक्रम प्रती बहिनिको लगाब सुनेर लाग्यो तिनी रेडियो प्रस्तोताकै लागि सही मान्छे हुन।
भाग्य बलियो रहेछ हाम्रो आश मरेको बिजुली आयो अनी भटाभट अन्तर्वार्ता नि रेकर्ड भयो । भिमजीका प्रश्नहरु गर्हौ र सापेक्षिक थिए । म सक्दो हलुका नबनी सान्दर्भिक उतर बोले। अन्तर्वार्ता सकियो र बिजुली नि गयो, कस्तो सम्योग!
अन्तर्वार्ता सकेर होटेल पुग्दा बाबा आफ्नो जागिरे जीवनका सहयात्री बाबुराम सर सँग कुरामा मग्न हुनुहुँदो रहेछ। बाबुराम सर मेरो प्राथमिक कालको गुरु जस्लाई आफ्नो अघी पाएर म एक्चोटी फेरी बालक विद्यार्थी झै भए। उहाहरुको साथ म संलग्न हुँदै गर्दा नै बाहिर कसैले “जगत दाई” भनेर बोलाएको नारी स्वर सुने। ढोका बाहिर हेर्दा थाहा लाग्यो बहिनी बिमला केयर्लेस आएकी रहिछिन। बैनी एक्लै आईनन । उनी आउँदा पाईला भरी साहस, मन्भरी आट अनी आँखामा झरिलो विश्वाश बोकेर आइन।
"दाई आउनु हुने कुरा थाहै भएन । म त घर गएकी थिए । बल्ल अहिले आउँदै छु । ल कती दिन बस्नु हुन्छ? अब एउटा कार्यक्रम हामी आयोजना गर्छौ ।" बहिनिले एकाएक आत्मियता पोखिन ।

"मेरो नि छोटो छुट्टी सबै कुरा गर्न भ्याको छैन। हप्ता दिनको लागि आको । तीन दिन त बिती सक्यो। खोइ!कार्यक्रम गर्न त समय मिल्ला र?"- मैले सङ्का गरे।

"किन नमिल्ने दाई । म सब ठीक गर्छु ।" - बहिनिको आवाजमा विश्वाश थियो । एउटा आगो जस्तो रापिलो जोश छोडेर बैनी बिदा भइन ।

दाई बिहानै एस एल सि परिक्षा निरिक्षण गर्न उभोखोला लागि सक्नु भको थियो। बाबुराम सर पनि बिदा हुनुभए पछी बाबा र म घर हिंड्ने तर्खरमा थियौ । झोलितुम्ली बोक्न होटेलका काइला दाइले एउटा भाई खोजी दिनु भको रहेछ ।

घरको आगनी टेक्दा घामले मेवा खोलाको साघु तरेर सेरा खेतको आधी बाटो उकालो चडदै थियो । घरको चुला चौकामा मनले आमा खोज्यो । आमाको ठाउँ भाउजुले सक्दो आत्मियताले भर्दै जानु भएको रहेछ। आमाले रोपी जानु भएको सुन्तलाको रुखहरु पनि बुढो हुँदै गएछन । भाउजु भन्दै हुनुहुन्थ्यो- "यस्पाली त सुन्तला राम्रो फलेन ।" सबै भन्नु समय त रहेछ नि। कुनै बेला त्यही सुन्तला बोटै थेग्न नसक्ने गरी फल्थ्यो, अब बिस्तारि नफल्ने हुँदै गईराछ र समयको कुनै घडी सुन्तलाको त्यो बोट त्यहा हुने छैन ।

मनमा जता जतै आमाको अभाब खड्किए पनि स्वेच्छा र प्रज्ञा छोरीहरुले मेरो मनलाई सक्दो बहलाई रहे। स्वेच्छा कम बोल्ने भए पनि कान्छी प्रज्ञा त ठट्टा गर्न समेत सिपालु रहिछिन।

भोली पल्ट गाउँ भरिका बाजेबजुहरु,बडाबडिहरु, काकाकाकिहरु, अनी स-साना नानीहरुलाई भेट्ने मौका मिल्यो । समकालिन दौतरीहरु गाउँमा बाँकी रहेनछन । कोही बिहे गरेर माइत गाउँ छोडेछन, कोही जागिर गर्न शहर पसेछन, धेरै चाँही ईलम खोज्दै पर्देश गएछन। गाउँ पहिले जस्तो रमाइलो लागेन मलाई ।

तर गाउँको औधी माया लागेर आयो । कहिले छोडेर नजाउ अनी गाउँमा केही गरु जस्तो पनि लागेर आयो। भोली पल्टको दिन घरमा गन्थन मै बित्यो । केही गाउँले दाजुभाईहरु सँग भलाकुसारी गर्दै अनी घरमा भाउजुले तयार गर्नु भको घर तरुल खाँदै चैत्र महिनाको त्यो अन्तिम दिन तिर हामीले माघे सन्क्रान्तिलाई सम्झियौ ।

भोली पल्ट टिकेट्को चाजो पाजो मिलाउन दाई र म दिक्तेल उक्लियौ । टिकट सेल गर्ने पसल पुग्नु अघी मेरो अतितको मिल्ने साथी दीपेन्द्रको पसल आयो । दीपेन्द्रको ड्याडी मेरो अंकल पसलमा बसी रहनु भको रहेछ । "अंकल नमस्ते! कस्तो छ तपाईंलाई? अनी खोइ त आन्टी ?" मैले धेरै प्रस्न गरे एकाएक। अंकल निधार खुम्चाएर एकाएक भाबुक भन्नु भयो । "आन्टी त यो संसारमा छैन बाबु !"
अनपक्षित अंकलको कुरा सुनेर म छक्क परे । एक प्रकारको गहिरो शोकले मन छोयो । कस्तो अभरो छ यो जीवन? अंकलले बोलेको कुरा झुटो भए हुन्थ्यो भएर आयो तर सत्य तितो थियो । दीपेन्द्र जीवनलाई पछाउदै जापान पुगेको त थाहा थियो तर उस्को जीवनको यो दु:खद दुर्घटना मलाई थाहा थिएन । आन्टिले कती चोटि स्कुल बाट भोकाएर आउँदा खाजा बनाएर खुवाएको, छोरालाई जस्तै माया गरेको खुब याद भयो । सोच्दै नसोचेको त्यो खबर सुनेपछी मन दुखी बन्यो । अंकलले चिया खाएर जाउ भन्नु हुँदै थियो, खाने सब इच्छा मरेर गयो ।

टिकट काउन्टरमा जाँदा उस्तै मन अमिलो भयो । अर्को २ हप्ता दिन सम्मको लागि नियमित उडानको टिकट पाउने कुनै सम्भावना थिएन। । अब के गर्ने होला भनेर एक्छिन त म बिचार सुन्य नै भए। तर जसो तसो २ घण्टा सम्म कुर्दा च्आटर्ड फ्लाइटको टिकेट मिल्ने भयो । दु:खको कुरा उडानको दिन भोली पल्ट थियो । केही अरु दिन बस्ने योजना भए पनि हामी सँग बिकल्प थिएन । यसैले दाजुभाई सल्लाह गरेर बाबा र मेरो लागि भोली पल्ट बिहानको लामिडाँडा काठमान्डौको लागि टिकेट लियौ।

बिमला बहिनी र साथीहरु बसेर साहित्यिक भलाकुसारी गर्न धेरै मन गरे पनि समय अभाबले गर्दा सकिएन। हतार गरेर दाई र म घर झर्यौ । तर झर्दाझर्दै सानैमा पढेको सारदा प्राथमिक स्कुलको प्राङ्गण टेकेर झर्यौ । स्कुलको नयाँ भवन बनेछ तर पुरानो भवन आधी भत्केछ । भत्किएको भवन कै सम्झना फोटो खिचेर हामी हतार घर झर्यौ ।

हामी चाडै फर्कने कुराले भाउजु कती पनि खुशी हुनु भएन।

"यस्तो हतारो थियो त नआएकै बेस-" भाउजुको दुखेको मन बोल्यो।

"म अर्को चोटि अली समय दिने गरी आउछु भाउजु । सानो मन नगर्नु न ल "- मैले सक्दो सम्झाए।

दिक्तेल देखी लामिडाँडाको लागि गाडीको ब्यबस्था भए पनि दिक्तेल सम्म त पुग्नु नै थियो। लामिडाँडाको ९ बजे एयरपोर्ट समयमा पुग्न दिक्तेल बिहान् ४ बजे नै पुग्नु थियो । यस्को लागि घर देखी २ बजे हिंड्नु थियो । बिहानै भाउजुले साइतको लोहोटा मुल्ढोकामा सजाउनु भएको थियो। हामीलाई दिक्तेल सम्म पुग्न अन्तरे काका, उहाकै छोरा दयाराम र दाजु ज्ञान साथै जानु भयो । दिक्तेलमा गाडी चढेर जब मुढेको उकालो लाग्यौ, मिर्मिरे उज्यालो भुइमा बिस्तारै झर्दै गयो ।

दिक्तेल आउँदा हामीलाई अध्यारो रातले घेरेको थियो अहिले दिक्तेल छोड्दै गर्दा उज्यालोले ढाक्दै आईरहेको थियो । समय कै खेल त रहेछ जीवन । धेरै काम भएर पनि अधुरो झै लगिरहेथ्यो मेरो जन्मघरको यात्रा । सम्झे - दोर्पामा मावली गाउँ जानै भ्याईन, कमला मेडमको घर जाने निम्तो पुरा गर्नै सकिन, सरस्वती स्कुलका सरहरु सँग भेट गर्ने मौकै मिलेन , बैंक चोकका कमल दाई सँग गफिने मौकै मिलेन आदी आदी । सोचे- ओ हो यो जीवन अपूर्ण छ , अधुरो छ । गाडी बिस्तारै मौरे तिर हाकिदै थियो । गाडीमा ड्राइभर दाईको रङरसे गीत घन्किरहेको थियो तर म भने मेरो भाउजु पुष्पालाई खुब मन पर्ने गीत सम्झीरहेको थिए । भाउजुले मलाई एक्चोटी गाएर नै यो गीत सुनाउनु भएको थियो -

" जिन्दगी यो फुल फुलको थुङा हुँदैन

उदाउने र अस्ताउनेको तुङ्गो हुँदैन"

गाडी हामीलाई बोकेर लामिडाँडा तिर हुइकिरहेको थियो, हुइकिरहेको थियो गाडी लामिडाँडातिर ......!